उर्मिला यादव यात्री , १६१ पटक हेरिएको

भैरहवा, साउन १७
श्री नव दुर्गा मन्दिर समिती सिद्धार्थनगर ८ बैंक कलोनी परिवारले लुम्बिनी प्रदेश सरकारका नव नियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयलाई शनिबार भैरहवामा सम्मान तथा बधाई सहित शुभकामना प्रदान गरेको छ । मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष प्रेमलाल यादवको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश सरकारका नव नियुक्त युवा तथा खेलकुद मन्त्री पाण्डेयको प्रमुख आतिथ्यतामा मन्त्री पाण्डेयलाई माल्यार्पण, दोसल्ला ओढाइ आगामी कार्यकालको सफलताको शुभकामना सहित सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले प्रदेशका युवाहरूको क्षमता अभिवृद्धि, खेलकुद पूर्वाधार निर्माण तथा अवसर सिर्जनामा आफू केन्द्रित रहने प्रतिबद्धता गर्नु भएको छ । उहाले धार्मिक तथा सामाजिक संस्थाबाट प्राप्त सद्भाव र समर्थनलाई आफ्नो प्रेरणाको स्रोत बनाउने बताउनु भयो ।
उहाले भन्नु भयोे, “म चार पटक मन्त्री बन्न पाएको छु, त्यो कुनै संयोग होइन, यो यहाँको जनताको म माथिको प्रेम, विश्वास र आशाको परिणाम हो । जनताले मलाई केही गर्छ भन्ने विश्वास राखेका छन्, म त्यो विश्वासको सम्मान गर्दै परिणाममुखी काम गर्नेछु ।”
त्यसैगरी, मन्त्री पाण्डेयले श्री नव दुर्गा मन्दिर क्षेत्रको आवश्यक संरचनात्मक विकासमा प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै जेष्ठ नागरिकहरूका लागि नियमित भजनमण्डली सञ्चालन गर्न आवश्यक सहयोग पु¥याउने आश्वासन समेत दिनु भएको छ । निर्वाचनको सन्दर्भमा बोल्दै उहाले भन्नु भयो “अब आउने चुनावमा आफन्त, जात वा दल हेरेर नभई देश र जनताको सच्चा सेवक छनोट गर्ने परिपाटी बसाल्न आवश्यक छ।”
यस्तै गरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमलाल यादवले मन्त्री पाण्डेयजस्तो युवा नेतृत्व सरकारमा पुग्नु गौरवको विषय भएको बताउँदै राज्य र समाजबीचको सहकार्यलाई अझ बलियो बनाइने विश्वास व्यक्त गर्नु भएको छ ।
यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राजन जंग राणाले मन्त्री पाण्डेयको नियुक्तिले स्थानीय तहमा नयाँ ऊर्जा थपेको बताउनु भएको छ । उहाले भन्नु भयो , “हामीलाई विश्वास छ— उहाँको नेतृत्वमा खेलकुद क्षेत्रको विकासमा ठूला उपलब्धिहरू हासिल हुनेछन्।”
त्यस्तै, मन्दिर ब्यवस्थापन समितिका वरिष्ठ सल्लाहकार डिआर शर्माले धार्मिक संस्था र राजनीतिक नेतृत्वबीचको सहकार्यले समाजमा सकारात्मक रुपान्तरण सम्भव हुने बताउँदै मन्त्री पाण्डेयलाई शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा मन्दिर ब्यवस्थापन समितिका पदाधिकारी ,समाजसेवी ,स्थानीय अगुवा, बुद्धिजीवी, सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०८-०२ , समय : २१:२८:५९ , १ दिन अगाडि