उर्मिला यादव यात्री , १६१ पटक हेरिएको

भैरहवा, साउन ३०
सङ्घीय लोकतान्त्रिक मोर्चाले देशभर भइरहेको मल–खादको चरम अभाव समाधानका लागि नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ। शुक्रबार मोर्चाका प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका मार्फत प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेलाई बुझाउँदै किसानको जीवन–मरणसँग जोडिएको समस्यामा तत्काल कदम चाल्न आग्रह गरेका छन ।
ज्ञापनपत्रमा नेपाल कृषि प्रधान देश भए पनि किसानहरू वर्षौंदेखि पर्याप्त मल–खाद आपूर्तिबाट वञ्चित हुँदै आएको गुनासो गरिएको छ। यस वर्ष ११ लाख मेट्रिक टन माग भए पनि सरकारले मात्र ४ लाख मेट्रिक टन मल–खाद उपलब्ध गराउन सक्नु सरकारको असफलता र किसानको श्रमप्रति अपमान भएको मोर्चाको आरोप छ।
नेपाल प्रजातान्त्रिक पार्टीका जिल्ला अध्यक्ष प्रदीप पाठक, राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष मुकेश यादव, नागरिक उन्मुक्ती पार्टी नेपालका जिल्ला अध्यक्ष तुल्सी चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रवि रौनियार, र जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष सियाराम यादवद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा मागअनुसार मल–खाद सहज रूपमा उपलब्ध नभएपछि कालोबजारमा अत्यधिक मूल्यमा खरिद गर्न बाध्य किसान थप संकटमा परेको उल्लेख गर्दै, सरकारले तत्काल ठोस निर्णय नलिए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले संघीय लोकतान्त्रिक मोर्चाले बुझाएको ज्ञापनपत्र नेपाल सरकारसमक्ष पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति: २०२५-०८-१५ , समय : १७:३२:०५ , २३ घन्टा अगाडि