रुपन्देही खबर , ९७ पटक हेरिएको

बुटवल, भदौ १
रुपन्देही प्रहरीले भारतबाट भन्सार छली ल्याइएको कारसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
शनिबार साँझ करिब ६ बजे बुटवल उप–महानगरपालिका–१७ रानीगंजस्थित सडक खण्डमा नियमित चेकजाँचका क्रममा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उक्त कार नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका–३ करहवा स्थायी घर भई हाल रुपन्देहीको बुटवल–१७ रानीगंज बस्ने ३० वर्षीय प्रिन्स भुजले चलाइरहेको AS 11W 1250 नम्बरको टाटा नेक्सन (मोडल २०२१, सेतो रंग) कार नियन्त्रणमा लिइएको हो । सो कारको अनुमानित मूल्य करिब २६ लाख रुपैयाँ रहेको र भन्सार छली गरी चोरी–पैठारी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रिन्स भुजलाई कारसहित आवश्यक कारबाहीका लागि आज भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
प्रकाशित मिति: २०२५-०८-१७ , समय : २२:०४:४७ , ५ घन्टा अगाडि