आस्था महिला उद्यमी संघद्वारा आमा तीज नृत्य प्रतियोगिता सम्पन्न

सुस्मा आले प्रथम

रुपन्देही खबर , १२७  पटक हेरिएको

भैरहवा, भदौ ५

आस्था महिला उद्यमी संघ, सि.न.पा.–९ उदयपुर, रुपन्देहीले आमा तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । संघकी अध्यक्ष मिनिता थापाको अध्यक्षता तथा ॐ नर्सिङ कलेजकी प्रबन्धक मिना पन्थीको प्रमुख आतिथ्यतामा बुधबार उद्योग व्यापार संगठन रुपन्देहीको सभाहलमा एक कार्यक्रमका बिच आमा तीज नृत्य प्रतियोगिता–२०८२ सम्पन्न भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि पन्थीले महिलाको भूमिकालाई प्रशंसा गर्दै महिलाहरुले आफूभित्रको प्रतिभा देखाएर समाजलाई सन्देश दिने काम गर्नुभएको बताउनु भएको छ । उहाले महिलाहरुको महान पर्व हरितालिका तीज केवल रमाइलोको माध्यम मात्र नभई महिला सशक्तिकरण र संस्कृतिको पहिचानलाई जगेर्ना गर्ने अवसर पनि भएको बताउनु भएको छ । उहाले यसरी आमाहरुले आत्मविश्वासपूर्वक प्रस्तुत हुनु स्वयंमा प्रेरणादायी भएको उल्लेख गर्नु भयो ।

यस्तै गरि आस्था महिला उद्यमी संघकी अध्यक्ष मिनिता थापाले बोल्दै “आमाहरुले घर र समाज दुवै क्षेत्रमा नेतृत्वको भूमिका निर्वाह गर्दै आउनुभएको बताउनु भएको छ । उहाले तीजलाई संस्कृतिको संरक्षण र महिला उद्यमशीलतालाई सशक्त बनाउन सकिने अवसरका रुपमा मनाउनुपर्ने हाम्रो उद्देश्य रहेको बताउनु भएको छ ।

त्यसैगरी संघको निबर्तमान अध्यक्ष बिन्दु न्यौपानेले “आस्था महिला उद्यमी संघले आयोजना गर्ने यस्ता कार्यक्रमहरुले महिलाहरुको प्रतिभा उजागर गर्नुका साथै आत्मविश्वास बढाउने काम गर्दै आएको बताउनु भएको छ । उहाले महिलालाई हौसला दिए समाज परिवर्तनको बाटो आफैं खुलेर आउँने बिश्वास व्यक्त गर्नु भएको थियो ।


कार्यक्रम संयोजक सम्झना रेग्मीको स्वागत मन्तव्य रहेको
कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, समाजसेवी ज्ञानु पौडेल, संघको सल्लाहकार चन्द्रमा कुवर, आस्थाका वरिष्ठ उपाध्यक्ष माया खनाल, रूपमा हिराचन, माया सारुमगर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा १६ जना आमाहरुले तीजको पारम्परिक गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । तीमध्ये सुस्मा आले प्रथम , सिमु रसाइली दितिय, पुस्पा रसाइली तृतीय स्थान हासिल गर्नु भएको थियो भने प्रतिमा घिमिरे सान्त्वना स्थान हासिल गर्नु भएको थियो ।

कार्यक्रममा संघको महासचिव पबि खनाल, उपाध्यक्ष लक्ष्मी अधिकारी, उपाध्यक्ष कल्पना न्यौपाने , सचिव उषा बेल्बासे , हनि गुरुङ, चन्द्रमा कुवर, सीता भण्डारी लगायत
सम्पूर्ण कार्यसमिति सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो । भने प्रतियोगिताको संरक्षकमा उद्योग व्यापार संगठन रुपन्देही रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०८-२१ , समय : १३:२३:४० , ९ घन्टा अगाडि