विराट सहकारी खारेज गर्नुपर्ने माग गर्दै रोहिणी गाउँपालिकालाई ज्ञापनपत्र

रुपन्देही खबर , ११६  पटक हेरिएको

भैरहवा,भदौ १२

रुपन्देहीको रोहिणी गाउँपालिका–२ स्थित श्री विराट कृषि सहकारी संस्था लि. मलखाद भण्डारण तथा वितरण केन्द्रका सञ्चालकहरुले मलखाद वितरण कार्यमा अनियमितता र अपारदर्शीता गरिरहेको भन्दै स्थानीयले उक्त सहकारी खारेजको माग गरेका छन् ।

बुधबार रोहिणी गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले मल वितरण समानुपातिक रुपमा नगरी शेयर सदस्यलाई मात्र दिने, रातीको समयमा बोलाई आफूखुसी मनोमानी ढंगले वितरण गरेको आरोप लगाएका हुन्।
मल ल्याई १५ दिनसम्म गोदाममै थन्काउने कार्य गरी किसानलाई दुःख दिने कार्य भइरहेकोले उक्त सहकारी संस्था खारेज गर्नुपर्ने रोहिणी–२ का बिनय कुमार यादवले बताउनुभयो । उहाँले मल वितरणको वैकल्पिक व्यवस्था मिलाउनका लागि पहल गरिदिन समेत गाउँपालिकालाई आग्रह गर्नुभयो ।

ज्ञापनपत्र बुझेपछि गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आफू किसानको समस्या समाधान गर्न लागिपरेको बताउनुभयो । उहाँले नियमसंगत रुपमा नै सहकारीले बनाएको किसान कार्ड भएका किसानलाई गाउँपालिकाको अगुवाइमा सोमबार मल वितरण गरिएको दावी गर्नुभयो । ‘सहकारीले सही ढंगले मल वितरण गर्नुपर्छ । तर, यहाँ त राती १२ बजे आफ्ना नजिकका मान्छे बोलाएर मल दिने, बढी मूल्यमा मल विक्रीवितरण गरिएको गुनासो आएको छ,’उहाँले भन्नुभयो । अध्यक्ष यादवले स्थानीयको माग बमोजिम मल सम्बन्धी समस्या समाधानका लागि गाउँपालिका अघि बढेको जानकारी दिनुभएको छ ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले मलखाद वितरणमा भएको अनियमितता, अपारदर्शीतालाई लिएर किसानले ज्ञापनपत्र दिनुभएको र यसमा रोहिणी गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले गाउँपालिकाले सोमबार किसानको मागबमोजिम १÷१ बोरा मल वितरण गरेको बताउनुभयो । विराट सहकारीले पाएको जिम्मेवारी पूरा नगरेको बताउँदै उहाँले कानून अनुसार कारवाही हुने बताउनुभयो ।

स्थानीयले ज्ञापनपत्र बुझाएपछि रोहिणी गाउँपालिकाको कार्यालय अगाडि विराट सहकारी खारेज गर, कालोबजारी बन्द गर भन्दै नाराबाजी गरेका थिए ।

प्रकाशित मिति: २०२५-०८-२८ , समय : १७:०१:१४ , १२ घन्टा अगाडि