रुपन्देही खबर , १०० पटक हेरिएको

भैरहवा, असोज १
संघीय लोकतान्त्रिक मोर्चा, रुपन्देहीले आज जेन्जी आन्दोलनका क्रममा वीरगती प्राप्त गरेका सहिद युवाहरूको स्मृतिमा श्रद्धाञ्जलि सहित दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। गत भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध जेन्जी युवाहरूले गरेका आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा भैरहवाको बुद्धचोकमा दिप प्रज्वलनसहित शोकसभा आयोजना गरिएको हो ।
मोर्चाले सहिदहरूको बलिदानलाई स्मरण गर्दै समाजमा न्याय र परिवर्तनका लागि संघर्षलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै आन्दोलनमा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना पनि गरिएको थियो। दिप प्रज्वलनमा बोल्दै जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष रामअवतार यादवले सहिद युवाहरूले आफ्नो जीवन आहुति दिएर देशमा सुशासन, पारदर्शिता र न्याय स्थापनाका लागि मार्ग प्रशस्त गरेको बताउनु भएको छ । उहाले “हाम्रा सहिदहरूले देखाएको बाटो अब हाम्रो पुस्ताले मात्र होइन, आउँदो पुस्ताले पनि निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिनु भयो । उहाले भ्रष्टाचारविरुद्ध उठेको यो आवाज राष्ट्रको इतिहासमा निर्णायक मोड भएको बताउदै सहिदहरूको सपना पुरा गर्न हामी सबै एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्नु भयो । यादवले सहिदहरूको परिवारलाई सरकारले यथोचित सम्मान र क्षतिपूर्ति दिनुपर्ने माग पनि राख्नु भएको थियो ।
त्यस्तै गरी जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले जेन्जी आन्दोलनलाई इतिहासकै सबैभन्दा सचेत र निडर युवा अभियानका रूपमा उल्लेख गर्दै “सहिदहरूको बलिदान व्यर्थ जान दिनु भनेको राष्ट्रको भविष्य अन्धकारमा धकेल्नु बराबर रहेको बताउनु भएको छ । उहाले अब हाम्रो जिम्मेवारी सहिदहरूले चाहेको न्यायपूर्ण समाज निर्माण गर्ने, भ्रष्टाचार, अन्याय र बेथितिलाई संस्थागत हुने ठाउँ नदिई जनताकै पक्षमा राजनीतिक शक्ति प्रयोग गर्नुपर्ने उल्लेख गर्नु भयो । उहाले आन्दोलनमा घाइते भएका युवाहरूको उपचार र पुनःस्थापनामा राज्य गम्भीर हुनुपर्ने समेत जोड दिनु भएको थियो । कार्यक्रममा स्थानीय युवा, सामाजिक अभियन्ता तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सहिदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका थिए । भने कार्यक्रम संचालन जसपा नेपाल रुपन्देहीका सचिव बिष्णु अधिकारीले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२५-०९-१७ , समय : २१:३१:२९ , ४ घन्टा अगाडि