उर्मिला यादव यात्री , २३१ पटक हेरिएको

भैरहवा,असोज ४
संघीय लोकतान्त्रिक मोर्चा, रुपन्देहीले संविधान दिवस (असोज ३) लाई “कालो दिन” दिनको रुपमा मनाएको छ । संविधानले समानता, पहिचान र अधिकारलाई निष्पक्षरूपमा सम्बोधन गर्न नसकेको भन्दै मोर्चाले रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७ स्थित बनगाई चोकमा कालोपट्टी बाँधेर विरोध तथा दिप प्रज्वलनसहित शोकसभा सम्पन्न गरेको छ । कार्यक्रममा उपस्थित नेताहरूले वर्तमान संविधानले मुलुकका वञ्चित, पीडित, सीमान्तकृत समुदायलाई अधिकार सुनिश्चित गर्न असफल भएको दाबी गर्दै संविधान पुनर्लेखनको आवश्यकता औंल्याएका छन ।
बिरोध तथा शोक सभामा बोल्दै जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष राम अवतार यादवले संविधानले समानता, पहिचान र अधिकारलाई निष्पक्षरूपमा सम्बोधन गर्न नसकेको भन्दै मधेशी, थारू, दलित, मुस्लिम र जनजातिहरूको अधिकारप्रति बेवास्ता गरिएको आरोप लगाउनु भएको छ । उहाले “आजको दिनलाई सरकारले उत्सवका रूपमा मनाए पनि मधेशी समुदायको लागी यो कालो दिन भएको बताउनु भयो । उहाले संविधान सबैलाई बराबर न्याय दिने दस्तावेज हुनुपर्ने हो तर यसले फेरि विभाजन र असमानता मात्र ल्याएको उल्लेख गर्नु भयो । अध्यक्ष यादवले संबिधान नै त्रुटिपुर्ण भएकोले संविधान संशोधन नभए पुनः सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
यस्तै गरी जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले संविधान लेखन प्रक्रियामै प्रतिनिधित्व नपाएका कारण धेरै वर्ग र समुदायहरू आज पनि पछाडि धकेलिएको बताउनु भएको छ । उहाले “संविधानले सबैलाई न्याय, समानता र अधिकार दिन सक्दैन भने त्यो दस्तावेज केवल एक पक्षको मात्र दस्तावेज हुने बताउदै यस्तो संविधानलाई आफुहरुले नमान्ने जिकिर गर्नु भयो ।
यस्तै गरी जसपा नेपाल लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य बच्चुलाल केवटले संविधान जारी भएको ७ वर्षपछि पनि सीमान्तकृत वर्गले अनुभूत गरेको विभेद अन्त्य नभएको बताउनु भएको छ । उहाले “संविधानले देखाएको सपना र वास्तविकताबीच ठूलो अन्तर भएको बताउदै जबसम्म यो अन्तर कम हुँदैन, तबसम्म संघर्ष र आन्दोलन जारी रहने प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै गरी लोसपा नेपालका जिल्ला अध्यक्ष रवि कुमार रौनियारले संविधानले जनताको अपेक्षा र चाहनालाई सम्बोधन नगरेको भन्दै यसको कार्यान्वयन मात्र होइन, संरचना नै फेरबदल गर्नुपर्ने बताउनु भएको छ । उहाले असोज तीन गते भन्दा पहिला आन्दोलनकारीहरुको छातीमा गोली ठोकी ठोकी जबरजस्ती ल्याएको संबिधान कहिल्यै पनि उत्कृष्ट हुनै नसक्ने ठोकुवा गर्नु भयो । उहाले “संविधानमा रहेका कमजोरी सच्याइएन भने यो मुलुक कहिल्यै शान्त र समृद्ध बन्न नसक्ने जिकिर गर्नु भयो । उहाले जनताका माग अनुसार जबसम्म संबिधान संशोधन हुदैन तब सम्म असोेज तीनलाई कालो दिनको रुपमा मनाउने
प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै गरी मायादेवी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले संविधानमा असमानताको जरा गहिरो रहेको उल्लेख गर्दै स्थानीय तहसम्मै त्यसको असर परेको बताउनु भएको छ । उहाले स्थानीय सरकारले जनताका आधारभूत आवश्यकता पूरा गर्ने काम गर्ने गरेको बताउदै तर संविधानमै असमानता हुँदा हाम्रो प्रयास पनि कमजोर भएकोले यो असमानताले समाजलाई अझै टुक्रयाउदै लैजाने बताउनु भएको छ ।
यस्तै गरी नागरिक उन्मुक्ति पार्टी, नेपालकी केन्द्रीय सदस्य नन्दा चौधरीले संविधानले महिलाहरू, दलित तथा उत्पीडित समुदायको अधिकार सुरक्षित नगरेको भन्दै यो संविधान महिला–विरोधी भएको टिप्पणी गर्नु भएको छ । उहाले “आज महिलाहरूलाई प्रतिनिधित्व दिने कुरा संविधानले भने पनि व्यवहारमा महिलाको आवाज दबाइदै आएकोले यस्तो संविधान हाम्रो हितको दस्तावेज हुनै नसक्ने बताउनु भयो ।
यस्तै गरी जसपा नेपाल रुपन्देहीका जिल्ला उपाध्यक्ष दिनेश मिश्राले संविधानमा देखिएका समस्या समाधान नगरेसम्म आन्दोलन र संघर्षलाई निरन्तर अघि बढाउने बताउनु भएको छ । उहाले “संविधानले दिएको घाउ अझै निको नभएको बताउदै जनताको न्याय, समानता र अधिकार सुनिश्चित नभएसम्म चुप लागेर नबस्ने बताउनु भएको छ ।
त्यस्तै, राष्ट्रिय मुक्ति पार्टी, नेपाल रुपन्देहीका अध्यक्ष मुकेश यादवले संविधानले मधेशी, जनजाति, थारू र उत्पीडित वर्गलाई अझै दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गरेको टिप्पणी गर्नु भएको छ । उहाले “संविधान दिवसलाई सरकारले उत्सवका रूपमा मनाए पनि हाम्रो लागि यो पीडाको दिन भएको बताउदै जबसम्म संविधानले समान अधिकार, समान अवसर र समान सम्मान दिन सक्दैन, तबसम्म आफुहरु निरन्तर प्रतिवाद र संघर्षमा रहने प्रतिबद्धता गर्नु भएको छ ।
कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य आशिन गुरुङले संविधान संशोधनमार्फतै मुलुकलाई एकताबद्ध, समावेशी र न्यायपूर्ण बनाउनुपर्नेमा जोड दिएका थिए । राष्ट्रिय मुक्ति पार्टी,नेपाल रुपन्देहीका अध्यक्ष मुकेश यादवको अध्यक्षतामा भएको शोकसभा कार्यक्रम जसपा नेपाल रुपन्देहीका सचिव विष्णु अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो।
प्रकाशित मिति: २०२५-०९-२० , समय : ११:३७:४६ , १ हप्ता अगाडि