नेशनल प्याब्सन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

रुपन्देही खबर , ३७२  पटक हेरिएको

बुटवल,असोज १५

नेशनल प्याब्सन रुपन्देहीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले पर्वले दिने भाईचाराको भावनाबाट शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार र राष्ट्रिय एकता सुदृढ हुने अपेक्षा व्यक्त गरेका थिए ।

कार्यक्रम नेशनल प्याब्सन रुपन्देहीका सचिव अमित यादवको अध्यक्षतामा भएको कार्यक्रममा यादवले शुभकामना मन्तव्य दिँदै
“शिक्षा केवल पाठ्यपुस्तक पढाउने विषय मात्र नभई जीवनलाई कसरी अर्थपूर्ण र उद्देश्यपूर्ण बनाउन सकिन्छ भन्ने सीप भएको बताउनु भएको छ । उहाले सबै मिलेर शिक्षा क्षेत्रमा सकारात्मक वातावरण बनाउन सक्षम भए मात्र राष्ट्र बलियो हुने बिश्वास व्यक्त गर्दै दशैंले ल्याउने दुर्गा माताको शक्ति, तिहारले ल्याउने लक्ष्मी माताको समृद्धि र छठ पर्वले दिने अनुशासन र कर्तव्यबोधले हामीलाई सही बाटो देखाउनेछ भन्ने विश्वास लिएको बताउनु भयो । । यादवले यस पर्वले विद्यालय, अभिभावक, विद्यार्थी र समाजबीचको सम्बन्धलाई अझ बलियो बनाओस् भन्ने कामना समेत गर्नु भएको छ ।

यस्तै गरि नेशनल प्याब्सनका प्रदेश उपाध्यक्ष होमनाथ ढुंगानाले शुभकामना व्यक्त गर्नु हुदै “शिक्षा क्षेत्रमा धेरै सुधारका प्रयास भए पनि अझै गर्नुपर्ने धेरै काम रहेको बताउनु भएको छ । उहाले गुणस्तरीय, जीवनोपयोगी र चरित्र निर्माण गर्ने शिक्षा दिन नसके भोलिका पुस्ता कमजोर हुने बताउनु भएको छ । उहाले विद्यालय केवल व्यवसायिक दृष्टिकोणले नभई सामाजिक उत्तरदायित्वका आधारमा चलाउनुपर्ने आवश्यकता भएको उल्लेख गर्नु भयो । उहाले दशैं, तिहार र छठ पर्वले दिने धार्मिक र सांस्कृतिक सन्देश केवल पूजापाठमा सीमित नभई, शैक्षिक विकासमा पनि प्रतिविम्बित हुनुपर्ने बताउनु भएको छ । उहाले हामी सबै एकजुट भएर अगाडि बढ्यौं भने रुपन्देही मात्र होइन, सम्पूर्ण लुम्बिनी प्रदेश नै शैक्षिक उत्कृष्टताको केन्द्र बन्न सक्ने बिश्वास व्यक्त गर्नु भएको छ ।

त्यसैगरी, नेशनल प्याब्सन रुपन्देहीका सहसचिव लक्ष्मण अर्यालले “शिक्षा क्षेत्रमा सबै पक्षहरूको सक्रिय सहभागिता जरुरी भएको बताउनु भएको छ । उहाले विद्यालय संचालक, शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध अझ गहिरो र विश्वासयोग्य हुनुपर्ने बताउदै चाडपर्वले दिने मेलमिलाप र आपसी सद्भावनाको भावना हामी सबैले शिक्षा क्षेत्रमा लागू गर्न सके, अवश्य पनि गुणस्तरीय शिक्षा दिन सकिने बताउनु भएको छ । उहाले शिक्षा सबैको अधिकार भएको बताउदै यसलाई सहज, सुलभ र प्रभावकारी बनाउन नेशनल प्याब्सन निरन्तर सक्रिय रहने बिश्वास व्यक्त गर्नु भएको छ ।”

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य पुरुषोत्तम बस्याल, कोषाध्यक्ष कमल पौडेल, सह–कोषाध्यक्ष शंकरप्रसाद गौतम लगायतका पदाधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा रुपन्देहीमा आवद्ध विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-१०-०१ , समय : २०:२०:२६ , १ महिना अगाडि