रुपन्देही खबर , २१९ पटक हेरिएको
भैरहवा, असोज २२
रुपन्देही प्रहरीले ठूलो परिमाणमा खरभुजाको बिउसहितको मिनि ट्रक नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले यहि असोज २० गते राति करिब ८ बजे रुपन्देहीको ओमसतिया गाउँपालिका–४ डण्डास्थित स्थानमा शंकास्पद रुपमा गुडिरहेको बा.प्र.०३–००१ ख १६८४ नं.को मिनि ट्रक रोकी जाँच गर्दा सो ट्रकमा १२५ बोरा (झण्डै ५० क्विन्टल) खरभुजाको बिउ फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको खरभुजाको बिउ तथा ट्रकको अनुमानित मूल्य करिब रु. २० लाख बराबर रहेको बताइएको छ । सो क्रममा ट्रक चालक रुपन्देही मायादेवी गाउँपालिका–६ बस्ने २२ वर्षीय राजकुमार मल्लाहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चालक र बरामद सामानलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको वडा प्रहरी कार्यालय भैरहवाले जनाएको छ । प्रहरीका अनुसार खरभुजाको बिउको स्रोत र गन्तव्य सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: २०२५-१०-०८ , समय : ०९:३७:४७ , १ महिना अगाडि