रोहिणी–६ मा ५५० घरधुरीले पाए लालपूर्जा, जनतामा खुसीयाली

रुपन्देही खबर , ९५  पटक हेरिएको

भैरहवा, कार्तिक १७

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ मा आइतबार आयोजना गरिएको विशेष समारोहका बीच ५५० घरधुरीलाई लालपूर्जा वितरण गरिएको छ । कार्यक्रममा गाउँब्लक अन्तर्गतका जग्गाधनीहरूलाई नापी कार्यालय रुपन्देही र रोहिणी गाउँपालिकाको संयुक्त आयोजनामा प्रमाणपूर्जा वितरण गरिएको हो । कार्यक्रमको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले जनताको हातमा लालपूर्जा पुगेको दिनलाई विकास र अधिकार सुनिश्चितताको दिन भन्दै खुसी व्यक्त गर्नुभएको छ ।उहाँले भन्नुभयो – “गाउँब्लक जग्गाको प्रमाणपूर्जा जनतासँग नहुँदा समस्या थियो । अब नागरिक आफ्नो जग्गाको मालिक बनेका छन्, यो नै साँचो विकास हो ।” गत वर्ष रोहिणी–३ मा ४५० वटा लालपूर्जा वितरण गरिएको उल्लेख गर्दै उहाँले बाँकी वडामा पनि क्रमशः वितरण प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभएको छ ।

यस्तै गरी नापी कार्यालयका नापी अधिकृत मणि प्रसाद रेग्मीले आजको दिनलाई आफ्नै “भाग्यको दिन” भनेर सम्बोधन गर्नुपर्ने बताउदै “लामो समयदेखि प्रतीक्षारत नागरिकका हातमा लालपूर्जा पुग्दा आफूले साँचो अर्थमा सेवा गर्न पाएको महसुस गरेको बताउनु भएको छ । उहाले बाँकी वडामा पनि वितरण जारी रहने जानकारी दिनु भयो ।”

यस्तै गरी कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती हरिजनले लालपूर्जा वितरणलाई गाउँपालिकाको ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्नुभएको छ । उहाले “यो केवल कागज मात्र नभइ नागरिकको अधिकार र पहिचानको प्रतीक भएको बताउनु भएको छ ।

यस्तै गरी रोहिणी गाउपालिका प्रवक्ता तथा वडा–३ का अध्यक्ष वडा ध्यक्ष वीर बहादुर क्षेत्रीले लालपूर्जा पाएपछि नागरिकले “आफ्नो अधिकार आफ्नै हातमा आएको” महसुस गरेको बताउनुभएको छ । उहाँले “अब विकास र व्यवस्थापनमा नागरिकको सहभागिता अझ प्रभावकारी हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।

यस्तै गरी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले बोल्दै लाल पुर्जा पाउने स्थानियहरुलाई आफ्नो सम्पत्तिको वास्तविक मालिक बनेको बताउदै अब कानूनी र विकास दुवै हिसाबले नागरिक सबल भएको उल्लेख गर्नु भयो ।

यस्तै गरी रोहिणी गाउपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रमान चौधरीले स्वागत मन्तब्य राख्दै वडा नम्बर ६ का अब लालपूर्जाबिहीन कोही पनि नरहने बताउदै यो नै वडाको साझा उपलब्धि भएको बताउनु भएको छ । उहाले वडाको बिकास र मानवीय बिकासमा वडा नम्बर निरन्तर रुपमा काम गर्दै आएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा पूर्व प्रवक्ता सरोज कुमार पाण्डेय, समाजसेवी देवेन्द्र पाण्डे ‘सागर’, स्थानिय अनिल कुमार चौधरी लगायतले बोल्दै लालपुर्जा नभएका नागरिक अब कानूनी रूपमा जग्गाका मालिक बनेपछि गाउँमा सुरक्षित र व्यवस्थित बसोबासको बाटो खुलेको बताउनुभएको थियो ।

रोहिणी गाउँपालिका र नापी कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीयवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । भने कार्यक्रमको सञ्चालन श्री पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव कुमार राजभरले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२५-११-०३ , समय : १२:३४:०३ , १५ घन्टा अगाडि