रुपन्देही खबर , ११७ पटक हेरिएको
नवलपरासी, कार्तिक २०
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१ पुनर्वासमा २०८२ कार्तिक १६ गते घटेको कर्तव्य ज्यान घटनामा संलग्न अभियुक्तलाई नियन्त्रणमा लिन उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीहरूलाई इलाका प्रहरी कार्यालय बर्दघाटले नगद पुरस्कार प्रदान गरेको छ।
इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक कृष्ण डाँगीले घटनामा संलग्न अभियुक्तलाई भाग्न नदिई पक्राउ गरी अनुसन्धानमा सहयोग पुर्याउने प्रहरी सहायक हवल्दार रमेश यादव र प्रहरी जवान मुकेश चौधरीलाई नगद पुरस्कारसहित सम्मान गर्नुभएको हो।
प्रहरी निरीक्षक डाँगीले अपराध नियन्त्रण र अनुसन्धानमा सक्रियतापूर्वक खटिने प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्नका लागि यस्ता प्रोत्साहन कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार अपराध नियन्त्रणमा सफल हुने प्रहरीहरूलाई आगामी दिनमा पनि प्रोत्साहनका कार्यक्रम निरन्तर गर्ने योजना रहेको छ।
इलाका प्रहरी कार्यालय बर्दघाटले समुदायसँग सहकार्य गर्दै स्थानीयस्तरमा अपराध नियन्त्रण र शान्ति–सुरक्षाको वातावरण मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
प्रकाशित मिति: २०२५-११-०६ , समय : ११:२२:२७ , ४ घन्टा अगाडि