तुलसीराम पौडेल , ७४ पटक हेरिएको
सियारी, कार्तिक २३
रुपन्देहीको सियारी गाउँपालिका ६, मदनगन्जस्थित सिद्धार्थ माध्यमिक विद्यालयलाई एक शिक्षिकाले आफ्नो जन्मदिनमै उपहार दिएजस्तो लाग्ने एक प्रेरणादायी काम गरेकी छन्। विद्यालयकी शिक्षिका नीरज कर्माचार्यले आफ्नो जन्मदिवसको शुभ अवसरमा विद्यालयको अक्षयकोषमा एक लाख एघार हजार एक सय एघार रुपैयाँ प्रदान गरेकी हुन्।
शुक्रबार आयोजित कार्यक्रममा शिक्षिका कर्माचार्यले सो रकमको चेक विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार रानालाई हस्तान्तरण गर्दै शैक्षिक विकासमा आफ्नो सानो योगदान रहोस् भन्ने चाहना व्यक्त गरिन्।
बुटवल उपमहानगरपालिका ७, दीपनगरकी स्थायी बसोबास गर्ने नीरज कर्माचार्यको अध्यापन यात्रा २०७६ साल मंसिर १ गते गैडहवा गाउँपालिका २, खडैचवास्थित श्री नवजागृति आधारभूत विद्यालयबाट सुरु भएको थियो। केही वर्षको सेवापश्चात् २०७७ साल असोज २८ गते उनी सियारी ६ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा सरुवा भई कार्यरत छिन्।
उनी शिक्षणलाई मात्र पेशा नभई समुदायप्रतिको जिम्मेवारी सम्झिने व्यक्तित्वको रूपमा चिनिन्छिन्। शिक्षिका कर्माचार्यका बुवा खुम प्रसाद कर्माचार्य र आमा झरना कर्माचार्य हुन्। उनका पति बिक्रम श्रेष्ठ र सुपुत्री बिनिता श्रेष्ठ पनि उनको सामाजिक उत्तरदायित्व र उदारताका प्रमाणिक समर्थकका रूपमा कार्यक्रममा उपस्थित रहे।
विद्यालय परिवारले शिक्षिका कर्माचार्यको योगदानलाई उदाहरणीय कदमका रूपमा लिएको छ। विद्यालयले अक्षयकोषमा प्राप्त रकम शैक्षिक गुणस्तर वृद्धि र विद्यार्थीको हितमा प्रयोग गरिने जनाएको छ।
Write to Mechikali Tulsi
प्रकाशित मिति: २०२५-११-०९ , समय : ०९:३८:३१ , ५ घन्टा अगाडि