रुपन्देही खबर , ५८ पटक हेरिएको
बुटवल,कार्तिक २३
शुक्रबारबाट फिल्महलमा प्रदर्शनमा आएको फिल्म ‘मन बिनाको धन’ले देशभरका हलहरूमा अपेक्षित शो नपाएपनि दर्शकको अपार माया भने बटुलेको छ। यसका निर्देशक टंक बुढाथोकीले एक सडक बालकलाई सुपर स्टार बनाएको कथा बोकेको फिल्मलाई दर्शकले औधी रुचाएका छन् । बुटवल स्थित समाजसेवी अनुपमान सैंजुको परिवारले आफ्नो परिवार सहित इस्ट मित्र र बुटवल स्थित मिलिजुली सामजिक प्रतिष्ठानको सहयोगमा आश्रमका ज्येष्ठ नागरीक आमा बुवाहरुलाई बुटवलको क्युबक्स आइएनआइमा सो फिल्म हेराएका हुन्।
फिल्म हेरेपछि श्रीमती रारा सैंजु सहित आएका अनुपले समाजमा हाम्रै कारणले असहाय भएका र नैतिकता अनि सामाजिक कुरीतिले अनाथ भएका बालबालिकाहरुलाई सबैले माया गर्नु पर्ने र अवसरको खाँचो भएकोले अवसर समेत सृजना गर्नुपर्ने बताउनुभएको छ। आफ्ना बुवा सामाजिक व्यक्तित्व गणेश मान सैंजुले स्थापना गरेको असहाय आश्रममा रहेका ज्येष्ठ नागरिकलाई समाजले र आफ्नै घर परिवारले समेत अबहेलना गर्दा समाजमा त्यस्तो किसिमको दृश्य देखिने हुदा आफ्ना बुवा आमा र छोरा छोरीलाई सहयोग माया सद्भाव गर्नुपर्ने बताउनुभयो। त्यस्तै उहाकी श्रीमती राराले महिलाहरु आत्मनिर्भर नहुँदा घरपरिवार समाजले गर्ने तिरस्कारले गर्दा समाजमा समस्या परेको र त्यसको निराकरण गर्न महिलाहरु आत्मनिर्भर हुनुपर्नेमा जोड दिंदै महिलाको ससक्तिकरण्का लागि फिल्म मन बिनाको धनले राम्रो कथा बोलेको बताउनुभयो ।समग्रमा चलचित्र राम्रो बनेकोले अभिनय र कथाको तारीफ गर्दै दर्शकले राम्रो प्रतिक्रया दिएका छन्।
“मन बिनाको धन”ले देशव्यापी मात्र ५२ शो पाएको छ । यसले कम शो पाउनुको मुख्य कारण ‘जारी २’सँगको प्रतिस्पर्धा हो । यो सिक्वेल फिल्म भएकाले हलहरूले ठूलो संख्यामा शो उपलब्ध गराएका छन् । जसले गर्दा ‘मन बिनाको धन’ शो बाँडफाँटमा चेपुवामा परेको छ । यद्यपि, ५२ शोमा फिल्मले राम्रो अकुपेन्सी हासिल गरेमा शनिबार स्वतः शो बढ्नेछ । हाल जारी-२ को प्रतिक्रिया दर्शकले खासै सन्तोसजनक नदिएपछी मन बिनाको धन ले राम्रो शो पाउने आशा समेत गरिएको छ।बुटवलमा दर्शक बाडिएपनि माउथ अफ पब्लिसिटीले फिल्म राम्रै चल्ने देखिएको छ। गायक अशोक दर्जीको जीवनकथामा आधारित यस फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् । सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, सन्तोष पन्त, रमा थपलिया, एआर बुढाथोकी, बिना राउत, उत्सव सापकोटा लगायतको पनि अभिनय रहेको फिल्ममा टंक स्वयंको कथा छ भने पटकथा शिवम् अधिकारीले तयार पारेका हुन् ।
प्रकाशित मिति: २०२५-११-०९ , समय : ०९:५३:०५ , ४ घन्टा अगाडि