रुपन्देही खबर , १७८ पटक हेरिएको
भैरहवा,कार्तिक २४
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली गरी ल्याइएका विभिन्न अबैध सामान बरामद गरेको छ। यहि कार्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा करिब रु. २२ लाख ८८ हजार २२८ बराबरका सामग्री नियन्त्रणमा लिएर कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पहिलो घटनामा रोहिणी गाउँपालिका–२, मैनिहवाबाट खटिएको टोलीले कपडा तथा बालबालिकाका लुगा–कपडासहितका सामग्री फेला पारेको छ। बरामद वस्तुमा Sandeep Textiles लेखिएको ८० थान महिलाको ऊनले बनेको कुर्ता, बच्चाको ४ पोका (४८ जोर) मोजा, १० थान टोपी, १५ जोडी टाउजर सेट, २४ सेट हुडी र ३२ जोर जेन्स मोजा रहेका छन्। यी सबैको मूल्य करिब रु. १ लाख २५ हजार ८०० बराबर रहेको बताइएको छ।
त्यसैगरी दोस्रो घटनामा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले तिलोत्तमा नगरपालिका–३, शंखनगरमा चेकजाँच गर्दा जोग प्रसाद न्यौपाने (५๐), स्थायी ठेगाना वालिङ–१२, स्याङ्जा,ले चलाइरहेको IND AA 2085 99083UP 14NT 7066 नं.को ERTIGA कारमा लुकाइछिपाइ ल्याइएका विभिन्न इलेक्ट्रोनिक सामग्री र रक्सीका बोतल बरामद गरेको हो।
कारको पछाडिको सिटमुनी राखी ल्याइएका सामग्रीमा मोबाइल फोनका विभिन्न मोडेलका ३५ भन्दा बढी डिस्प्ले प्याकेट, Lenovo ल्यापटप चार्जर, गाई आकारका ५ धातुका मूर्तिहरू, Rockford र Old Monk का ९ बोतल रक्सी लगायतका सामान समावेश छन्। यी सबैको अनुमानित मूल्य करिब रु. १८ लाख ४० हजार २२८ बराबर भएको प्रहरीले जनाएको छ।
दुवै घटनामा बरामद सामग्री तथा संलग्न व्यक्तिलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रकाशित मिति: २०२५-११-१० , समय : १०:४५:५३ , ३ दिन अगाडि