जग्गा वर्गीकरण नगरेका पालिकामा पनि कित्ताकाट खुल्यो

रुपन्देही खबर , ४०  पटक हेरिएको

काठमाण्डौ, कार्तिक २५

सरकारले भू–उपयोग नियमावली, २०७९ तेस्रो पटक संशोधन गरेसँगै कित्ताकाट खुलेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो संशोधित नियमावली स्वीकृत गरेसँगै कित्ताकाट खुलेको हो । पालिकाले जग्गा वर्गीकरण नगरेका कारण देशभरका पाँच सय पालिकामा कित्ताकाट रोकिएको थियो । भू–उपयोग नियमावली जारी भएको तीन वर्ष बित्दासम्म देशभरका सात सय ५३ मध्ये दुई सय ५३ पालिकाले मात्रै जग्गाको पूर्ण वर्गीकरण गरेका छन् ।

२०८१ भदौ २७ मा भू–उपयोग नियमावली, २०७९ दोस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण गर्न पालिकालाई २०८२ असार मसान्तसम्मको समय दिइएको थियो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार बैठकले भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै पछिल्लो मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ । योसँगै व्यक्तिगत घटना दर्तामा भएको नाम, जन्ममिति, बसाईँसराइ, विवाह दर्ताजस्ता विवरण एकपटकलाई सच्चाउन मिल्ने भएको छ ।

गएको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतितर्फ चार जना र नेपाल प्रहरीतर्फ ११ जना थप गरी १५ जना कर्मचारी उपलब्ध गराउने निर्णय भएको छ । त्यस्तै भोलिदेखि यही २८ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने नेपाल-भारत कोर्डिनेशन बैठकको नवौँ बैठकमा सहभागी हुन नेपालको तर्फबाट सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति दिएको छ । सरकारले आउँदो फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: २०२५-११-११ , समय : १२:२४:५८ , २ दिन अगाडि