महिला प्रधानाध्यापकका लागि भैरहवामा ३ दिने नेतृत्व विकास तालिम सम्पन्न

व्यवहारिक सीप, लैंगिक दृष्टिकोण र समावेशितामा जोड

उर्मिला यादव यात्री , १३२  पटक हेरिएको

भैरहवा, कार्तिक २६

महिला शिक्षक तथा महिला प्रधानाध्यापकको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शिक्षा तालिम केन्द्र, सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशले भैरहवामा तीन दिने महिला नेतृत्व विकास कस्टमाइज्ड तालिम सम्पन्न गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीको समन्वयमा, युनिसेफ नेपाल र एजुकेशनल पेजेजको प्रविधिक सहयोगमा कार्तिक २३ देखि २५ गतेसम्म आयोजित उक्त तालिम मंगलबार एक कार्यक्रमका बिच समापन गरिएको छ । तालिममा लुम्बिनी प्रदेशका चार जिल्लाका नौ पालिकाबाट ५६ जना महिला सहभागी भएका थिए ।

एजुकेशनल पेजेजका कार्यकारी निर्देशक लवराज ओलीका अनुसार तालिमले व्यवहारिक सीप, लैंगिक दृष्टिकोण र समावेशितालाई केन्द्रमा राखी सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो, “महिला नेतृत्व सबल हुँदा विद्यालयमा निर्णय प्रक्रिया सहज र परिणाममुखी बन्छ । त्यसैले सहभागीहरूको आवश्यकता अनुसार तालिम सामग्री तयार पारेर व्यवहारिक नेतृत्वमा जोड दिइएको हो ।” उहाँका अनुसार तालिमले महिला प्रधानाध्यापक तथा शिक्षकलाई विद्यालय नेतृत्वका क्रममा देखिने चुनौती समाधान गर्न र समुदायमा सशक्त नेतृत्व भूमिकामा आउन सहयोग पु¥याउने उद्देश्य राखिएको छ ।

शिक्षा तालिम केन्द्र भैरहवाका प्रमुख दिवाकर भण्डारीले महिला प्रधानाध्यापक र शिक्षकको बढ्दो सहभागिता शिक्षाको सशक्तीकरणको सूचक भएको बताउनुभयो । उहाँले थप्नुभयो, “तालिमले महिलामा योजनागत सोच, व्यवहारिक नेतृत्व र आत्मविश्वास बढाउनेमा विश्वास लिइएको छ ।”

तालिममा सहभागी शान्ति कुमारी केसी, प्रधानाध्यापक, श्री सरस्वती आधारभूत विद्यालय शिवराज–१ शिवपुर, कपिलवस्तुले तालिमले विद्यालय व्यवस्थापनमा नयाँ दृष्टिकोण दिएको बताउनुभयो । उहाँले भनिन्, “कक्षाभित्र र विद्यालय व्यवस्थापनमा नेतृत्व कसरी प्रभावकारी बनाउने भन्नेबारे धेरै उपयोगी सिकाइ प्राप्त भयो । अब विद्यालयमा सिकेका कुराहरू व्यवहारमा उतार्नेछु ।”

त्यस्तै, तेजकुमारी पन्थी, प्रधानाध्यापक, श्री महालक्ष्मी आधारभूत विद्यालय, शुद्धोधन–६ का अनुसार, तालिमले महिलाको आत्मविश्वास अभिवृद्धि गर्न ठूलो योगदान पु¥याएको छ । उहाँले भनिन्, “यस्ता तालिमहरूले शिक्षकलाई सिकाइ वातावरण सुधार्न र विद्यालय सञ्चालनमा दक्षता बढाउन मद्दत गर्छ । आगामी दिनमा अभिभावक शिक्षासम्बन्धी तालिम पनि सञ्चालन गर्न आवश्यक छ ।”

तीन दिनसम्म चलेको उक्त तालिममा विद्यालय नेतृत्व, शैक्षिक योजना निर्माण, समन्वय क्षमता, सिकाइ वातावरण सुदृढीकरण, व्यवहारिक नेतृत्व विकास तथा निर्णय प्रक्रियासम्बन्धी विषयवस्तु समावेश गरिएका थिए । सहभागी महिला प्रधानाध्यापकहरूले यस प्रकारका तालिमले महिलालाई शैक्षिक क्षेत्रमै सीमित नराखी सामुदायिक नेतृत्वमा पनि अग्रणी भूमिका निर्वाह गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०२५-११-१२ , समय : १२:५४:१७ , १२ घन्टा अगाडि