रुपन्देही खबर , १३० पटक हेरिएको
भैरहवा, कार्तिक २८
भैरहवा नमुना माध्यमिक विद्यालय सिद्धार्थनगर–५, भैरहवाले आज शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गर्दै विद्यालयका प्रध्यापक तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदान–प्रदानसँगै सम्पन्न सो कार्यक्रममा शैक्षिक उदयका दुवै रत्नलाई विद्यालय परिवारले हार्दिक बिदाइ तथा सम्मान प्रदान गरेको हो ।



विद्यालयका प्रध्यापक डा. सालिकराम भण्डारी नेपाल सरकारको बरिष्ठ बैज्ञानिकका रुपमा सिफारिस भई मनोनयन भएकाले विद्यालयले उहाँको उपलब्धिलाई ऐतिहासिक भनेर सम्मान गरेको थियो ।
यस्तै, भैरहवा नमुना माविमा अध्ययनरत विद्यार्थी कञ्चन बनियाँले चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस) एकीकृत प्रवेश परीक्षा २०८२ मा पूर्ण छात्रवृत्ति प्राप्त गर्दै विद्यालयको शिर गर्वले उँचो बनाउन सफल भएकी छन्। दुवै व्यक्तित्वलाई विद्यालयले आज विशेष सम्मान गर्दै शुभकामनापूर्वक बिदाइ गरेको हो

कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका–५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले सरकारी विद्यालयप्रति समाजमा रहेको नकारात्मक सोच, भाषाभन्दा पनि कार्यले परिवर्तन गर्नुपर्ने बताउनुभयो। उहाँले सरकारी विद्यालयप्रति सकारात्मक दृष्टिकोण राखेर सहयोग र भरोसा गर्नुपर्नेमा जोड दिनुभयो। “सरकारी विद्यालयले थुप्रै रत्न उत्पादन गरिसकेको छ, अब यसलाई अझै समुन्नत बनाउने जिम्मा सबैको हो,”– वडाध्यक्ष श्रेष्ठले भन्नुभयो।

विद्यालयका प्रधानाध्यापक बासुदेव पौडेलले विद्यालयले पछिल्लो समय शैक्षिक तहमा उल्लेख्य उपलब्धि हासिल गर्दै आएका कारण अभिभावकको भरोसा बढ्दै गएको जानकारी दिनुभयो । उहाँले सफल प्रध्यापक र विद्यार्थीले विद्यालयको नाम राष्ट्रिय स्तरमा उज्यालो पारेको उल्लेख गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तथा भैरहवा क्याम्पसका अध्यक्ष आनन्द प्रसाद गुप्ताले भैरहवा नमुना विद्यालयले आज फेरि एक इतिहास रचेको बताउनुभएको छ । “सरकारी विद्यालय हो भनेर नहेप्नुस्, यसले पनि युग बदल्ने क्षमता राखेको प्रमाण आज फेरि देखियो,”– गुप्ताले दुवै सम्मानित व्यक्तित्वको उपलब्धिलाई प्रशंसा गर्नु भएको थियो ।

यस्तै गरी सम्मानित प्रध्यापक डा. सालिकराम भण्डारीले भन्नु भयो । “भैरहवा नमुना विद्यालय मेरो जीवनको एउटा महत्वपूर्ण अध्याय हो। यहाँका सहकर्मी, विद्यार्थी र वातावरणले नै मलाई आजको स्थानसम्म ल्याएको हो। सरकारी विद्यालयले उत्कृष्टता हासिल गर्न सक्दैन भन्ने मिथकलाई तोडेर देखाउने जिम्मा हामी सबैको हो। आजको सम्मानले मलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ।”
यस्तै गरी पूर्ण छात्रवृत्ति प्राप्त विद्यार्थी कञ्चन बनियाँले बोल्दै भन्नु भयो । “मैले प्राप्त गरेको सफलता केवल मेरो मात्र होइन, विद्यालय, शिक्षक र परिवार सबैको फल हो। सरकारी विद्यालयमा पनि राम्रो मार्गदर्शन र मेहनतबाट उच्च लक्ष्य हासिल गर्न सकिन्छ भन्ने प्रमाण बन्न पाउनु गर्वको विषय हो। आगामी दिनमा चिकित्सक भएर समाजलाई योगदान पु¥याउने लक्ष्य राखेकी छु।”

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उत्साहपूर्ण उपस्थिति रहेको थियो । विद्यालय परिवारले प्रध्यापक भण्डारी र विद्यार्थी बनियालाई आगामी यात्रामा अझ उच्च सफलता र प्रगतिको शुभकामना व्यक्त गर्दै बिदाइ गरेको हो ।
प्रकाशित मिति: २०२५-११-१४ , समय : २०:१९:२२ , ३ घन्टा अगाडि