रुपन्देही खबर , ११४ पटक हेरिएको
नवलपरासी, मंसिर १
नवलपरासीको भुमहीस्थित बडेरामा सोमबार दिउँसो भएको कार दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश–२३ च ५०७५ नम्बरको कार अचानक पुलदेखि तल खोलामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सुनवलका अनुसार दिउँसो करिब १ बजे भएको दुर्घटनामा अर्घाखाँची धातिवाङ–८ का ५८ वर्षीय मणिराम पौडेलको मृत्यु भएको हो। दुर्घटनापछि गम्भीर घाइते भएका पौडेललाई तत्काल उद्धार गरी उपचारका लागि पृथ्वीचन्द्र अस्पताल, परासी पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
दुर्घटनामा कार चालक तथा मृतकका छोरा ३५ वर्षीय हरिशचन्द्र पौडेल सामान्य घाइते भएका छन्। बाबु–छोरा अर्घाखाँचीबाट काठमाडौँतर्फ जाँदै गरेको समयमा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।
प्रहरी निरीक्षक लक्ष्मण देवकोटाका अनुसार घटनास्थलको प्रकृति हेर्दा तीव्र गतिकै कारण कार अनियन्त्रित भई पुलदेखि तल खोलामा खसेको अनुमान गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२५-११-१७ , समय : १९:०२:१८ , ६ घन्टा अगाडि