रुपन्देही खबर , १०४ पटक हेरिएको
भैरहवा, मंसिर ७
मयुर बचत तथा ऋण सहकारी संस्था, सिद्धार्थनगर–भैरहवाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ संस्थाका अध्यक्ष तथा सिद्धार्थनगर–३ का निवर्तमान वडा अध्यक्ष थानेश्वर पौडेलको अध्यक्षता र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति तथा रक्तसञ्चार सेवा समिति रुपन्देहीका संयोजक सुशील गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुशील गुरुङले सहकारी संस्थाहरूले मात्र वित्तीय गतिविधिमा केन्द्रित नभइ समाजसेवामा पनि अग्रसर हुनुपर्ने बताउनु भएको छ । उहाले सहकारी संस्थाहरु छरिएर रहेको बचतलाई उत्पादकत्वमा योगदान दिएर राष्ट्र निर्माणमा नै टेवा पु¥याएकोले अब रक्तदान जस्तो पवित्र कार्यलाई निरन्तरता दिइ रगतको अभाव हुन नदिएर विरामीको ज्यान जोगाउने कार्यमा पनि अग्रसर हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नु भयो । “रगतको अभावले कुनै पनि बिरामीले जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले सहकारीहरूले यस्ता सामाजिक अभियानलाई नियमित गर्न आवश्यक छ । मयुर सहकारीले गरेको यो पहल प्रशंसनीय छ ।”
यस्तै गरी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थानेश्वर पौडेलले रक्तदानलाई सहकारीको सामाजिक दायित्वसँग जोड्दै नियमित रूपमै यस्ता अभियान सञ्चालन गरिरहेको बताउनु भएको छ । उहाँले भन्नु भयो । “रक्तदान मानव जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको सेवा हो। सहकारीले आर्थिक सुदृढतासँगै सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।”
कार्यक्रममा उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारीका अध्यक्ष खिम बहादुर कार्की, संस्थापक अध्यक्ष कृष्ण प्रसाद भण्डारी, निवर्तमान अध्यक्ष दिपक कुँवर, लेखा संयोजक गणेश प्रसाद बेल्बासे, राजकुमार कुँवर, व्यवस्थापक मन्जु पाण्डे लगायतको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममार्फत कुल २६ प्वाइण्ट रगत संकलन गरिएको सहकारीले जनाएको छ । कार्यक्रमको संस्थाका उपाध्यक्ष लेखनाथ भण्डारीको स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव सविना अर्यालले गर्नु भएको छ ।
प्रकाशित मिति: २०२५-११-२३ , समय : २०:२८:३१ , १५ घन्टा अगाडि