रुपन्देही खबर , ४७४ पटक हेरिएको
लुम्बिनी, मंसिर ९
लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयबाट शैक्षिक सत्र २०८१ को कक्षा १२ परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई आइतबार एक कार्यक्रमका बिच सम्मान गरिएको छ। सोही अवसरमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठक पनि सम्पन्न गरिएको नगरपालिका स्रोतले जनाएको छ।

कार्यबाहक नगर प्रमुख कल्पना हरिजनको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक सत्र २०८१ को कक्षा १२ परीक्षामा प्रथम हुने मनिषा कुमारी बनियालाई नगरपालिका द्वारा ल्यापटप प्रदान गरिएको छ। द्वितीय तथा तृतीय श्रेणीमा पर्ने निषा कुमारी यादव, महफुज आलम खान, सगिता यादव र श्रीकृष्ण बरईलाई साइकल प्रदान गरी प्रोत्साहन गरिएको हो।

कार्यक्रमका बोल्दै कार्यबाहक नगर प्रमुख कल्पना हरिजनले उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीलाई बधाई दिनुहुँदै विद्यालयको गुणस्तर सुधारलाई नगरपालिका उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभएको छ । उहाँले “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न विद्यालय, अभिभावक र नगरपालिका तीनै तहको संयुक्त प्रयास आवश्यक भएको जोड दिदै उत्कृष्ट विद्यार्थीको सम्मानले अन्य विद्यार्थीलाई पनि प्रेरणा मिल्ने बिश्वास व्यक्त गर्नु भएको छ ।
यस्तै गरि प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले नगरपालिकाले शिक्षा सुधारका लागि प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “विद्यार्थीले उत्कृष्ट फलাফল ल्याउनु सामुदायिक विद्यालयको क्षमताको प्रमाण हो। नगरपालिका आगामी दिनमा अझ व्यवस्थित र परिणाममुखी शिक्षा कार्यक्रम विस्तार गर्दै लैजानेछ।”
कार्यक्रममा अन्य वक्ताहरूले पनि सामुदायिक विद्यालयले प्रतिवर्ष सुधारिएको नतिजा प्रस्तुत गरिरहेको उल्लेख गर्दै विद्यालय व्यवस्थापन, शिक्षक र विद्यार्थीको निरन्तर प्रयासलाई प्रशंसा गरेका थिए।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा शिक्षा समिति सदस्य खुर्शेद आलम मुसलमान, वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोध, उपसचिव तथा शिक्षा अधिकृत हरि प्रसाद ज्ञवालीलगायत नगरपालिकाका शाखा प्रमुख, कर्मचारी, सामुदायिक विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो
प्रकाशित मिति: २०२५-११-२५ , समय : २०:०६:३८ , ३ महिना अगाडि