राप्रपा रुपन्देहीका भातृ संगठनको कडा चेतावनी सहित ध्यानाकर्षण पत्र

: एकल निर्णय खारेज नभए कालो झण्डासहित आन्दोलन

रुपन्देही खबर , १६४  पटक हेरिएको

भैरहवा,मंसिर १२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही अन्तर्गतका तीन भातृ संगठन—राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चा, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन—ले जिल्ला कार्य समितिविरुद्ध कडा चेतावनीसहित ध्यानाकर्षण पत्र बुझाएका छन्। भातृ संगठनहरूले जिल्लामा पार्टीगत निर्णयहरू लगातार एकल रूपमा हुँदै आएको र भातृ संगठनलाई पूर्ण रूपमा नजरअन्दाज गरिएको आरोप लगाएका छन्। विशेषगरी मंसिर ८ गते स्थानीय तह परिचालन विभागको जिल्ला संयोजक चयन “एकल तथा शासकीय पद्धतिमा” गरिएको भन्दै सो निर्णयप्रति तीव्र आपत्ति जनाएको छ।

ध्यानाकर्षण पत्रमा भातृ संगठनहरूले उक्त एकल निर्णय तत्काल खारेज गर्न माग गर्दै चेतावनी दिएका छन् कि अहिलेको निर्णय पुनःविचार गरी जिल्ला, स्थानीय तह र भातृ संगठनको उपस्थितिमा सर्वसम्मत रूपमा नयाँ निर्णय नभएसम्म आफूहरू चुप बस्ने छैनन्।

तीन बुँदे चेतावनी
भातृ संगठनहरूले माग पूरा नभए चरणबद्ध रूपमा कडा विरोध गर्नेसमेत बताएका छन्–

१. मंसिर ८ गते गरिएको जिल्ला संयोजक चयनलाई तत्काल खारेज गर्नुपर्ने।
२. भातृ संगठनलाई बेवास्ता गर्दै कुनै कार्यक्रम, बैठक वा सम्मेलन आयोजना गरिएमा पार्टीका शीर्ष नेताहरूलाई कालो झण्डा देखाइ विरोध प्रदर्शन गर्ने।
३. माग सम्बोधन नभए तीनै भातृ संगठनका पदाधिकारीहरूले सामूहिक राजीनामा दिने।

भातृ संगठनहरूले दिएको चेतावनीका कारण राप्रपा रुपन्देहीभित्र आन्तरिक तनाव तीव्र बन्दै गएको छ। पार्टी नेतृत्वले यसप्रति कसरी कदम चाल्छ भन्ने प्रतीक्षामा कार्यकर्ताहरू छन्।

प्रकाशित मिति: २०२५-११-२८ , समय : १४:५८:३९ , ५ घन्टा अगाडि