शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

रुपन्देही खबर , ६१  पटक हेरिएको

तिलोत्तमा, मंसिर १५

शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले वन तथा कृषि सहज नेपाल(एफ एफ एफ) जलवायु अनुकुलन भूभाग र सुधारिएको जीविकोपार्जन परियोजना अन्तर्गत एफ ए ओ (खाद्य तथा कृषि संगठन) को सहयोगमा कृषि वन नर्सरी ब्यवस्थापन तथा जलवायु परिवर्तन अनुकुलन विपद जोखिम न्यूनीकरण रणनीति निर्माण सम्वन्धि कार्यशाला गोष्ठि गरेको छ । विश्वभर खाद्य सुरक्षा सुनिश्चित गर्ने, भोकमरी अन्त्य गर्ने, कृषि उत्पादन बढाउने, ग्रामीण विकासलाई प्रोत्साहन दिने प्राकृतिक स्रोतहरूको दिगो उपयोग सुनिश्चित गर्ने मुख्य उद्देश्य रहेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले शँकरनगर सामुदायिक वनमा कृषि वन नर्सरीका लागि आर्थिक सहयोग गरेको छ ।

समूहका कार्यसमिति र सल्लाहकारहरुलाई कृषि वन नर्सरीको ब्यवस्थापनको लागि संगठन संरचना, लाभाँस बाँडफाँड र नीति निर्माण तथा वनका उपभोक्ताहरुलाई जलवायु परिवर्तन अनुकूलन विपद जोखिम न्यूनीकरण र रणनीति निर्माण सम्वन्धि कार्यशाला गोष्ठी गरिएको हो ।

कार्यक्रममा समूहका अध्यक्ष रबिन्दं्र बस्नेतले २०६२ सालबाट शुरु भई २०६४ सालबाट ब्यवसायिक कारोवार शुरु भएको कृषि वन नर्सरीलाई एफ ए ओ को सहयोगमा थप परिस्कृत गरी संस्थागत संरचना सुधारका लागि ब्यवस्थापन संयन्त्र निर्माण गर्न लागिएको वताउनु भएको छ । सामुदायिक वनले संचालन गरेको कृषि वन नर्संरीमा विभिन्न प्रजातीका १३५ थरी विरुवा रहेको र यस वाट हरियाली प्रवद्र्धनमा टेवा पुग्नुका साथै विरुवा विक्री बाट भएको आम्दानीबाट संस्था संचालनमा सहयोग पुगेको बताउनु भएको छ ।

समूहका कोषाध्यक्ष भुवन आचार्यले समूहको कृषि वन नर्सरीबाट अन्य ब्यवसायिक नर्सरीहरुले भन्दा निकै सस्तो मूल्यमा विभिन्न प्रजातिका फलफूलका विरुवा उपलब्ध गराउंदै आएको र वार्षिक करिव १५ देखि १६ लाख सम्म विरुवा विक्री वितरण हुने गरेको जानकारी गराउनु भएको छ । कार्यक्रममा जलवायु परिवर्तनले वातावरण तथा स्थानीय वाली नालीमा पार्ने नकारात्म प्रभावका विषयमा सहजीकरण गर्दै डिभिजन वन कार्यालय रुपन्देहीका वरिष्ठ वन अधिकृत हेमराज शाहीले आयातित वाली नाली भन्दा स्थानीय हावापानी संग सजिलै घुलमिल हुने र सहजै उत्पादन गर्न सकिने वाली नालीको संरक्षण र उपयोग गर्नुपर्नेमा जोड दिनु भएको छ ।

अर्का सहजकर्ता कञ्चन गाउँपालिका तरकारी मूल्य श्रृंखला विकास परियोजना प्रमुख समिर ज्ञवालीले कृषि वन नर्सरीको दीगो पना र गुणस्तर बृद्धिका लागि नर्सरीको संस्थागत संरचना र ब्यवस्थापन संयन्त्रमा परिवर्तन गरी नर्सरीबाट बढि भन्दा वढि मुनाफा आर्जन गर्नुपर्ने वताउनु भएको छ ।

दातृ निकाय (एफ ए ओ) कृषि वन सहज कार्यक्रमका संयोजक उमेश पौडेलले सामुदायिक वनले संचालन गर्दै आईरहेको कृषि वन नर्सरीलाई कार्ययोजनामा समेटेर कृषि वन नर्सरीको सुदृढिकरण गर्दै दीगो वन ब्यवस्थापनका लागि प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउंदै विभिन्न चरणमा तालिम तथा गोष्ठिहरु संचालन गर्दै आएको जानकारी गराउनु भएको छ ।

कृषि वन नर्सरीका सम्भावना, अवसर, चुनौति, सामुदायिक वनलाई दीर्घकालिन रुपमा हुने फाईदा बेफाईदाका विषयमा समूहगत छलफल समेत गरिएको थियो । कार्यक्रममा समूहका वरिष्ठ सल्लाहकार टेकबहादुर थापा, टिकानिधि गौतम, निवर्तमान अध्यक्ष राम गिरी, पूर्व अध्यक्ष उमानाथ कँडेल, संस्थापक अध्यक्ष केशवराज न्यौपाने, उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी, पूर्व उपाध्यक्ष कृष्ण बहादुर कुवर लगायतले सामुदायिक वनले संचालन गरेको कृषि वन नर्सरीलाई थप ब्यवस्थित र वढि प्रतिफल लिने गरी विकास गर्नुपर्नेमा जोड दिनु भएको छ ।

५८४.६० हेक्टरमा फैलिएको शँकरनगर सामुदायिक वनले वन क्षेत्रलाई ११८.४२ हेक्टर रुख खण्ड, ३५५.९९ हेक्टर पोल खण्ड र ११०.१९ हेक्टरलाई बृक्षारोपण खण्डमा विभाजन गरी वनको विकास र संम्वद्र्धन गर्दै आईरहेको छ । सामुदायिक वनले यसका अलावा वनको विकास र संवद्र्धनका लागि सम्वन्धित सरोकारवालासंग गोष्ठि, नर्सरी तालिम, संस्थागत संरचना सुदृढिकरण, जलवायु परिवर्तन, आगलागि नियन्त्रण, दीगो वन ब्यवस्थापन लगायतका कार्यक्रम समेत संचालन गर्दै आईरहेको छ ।

प्रकाशित मिति: २०२५-१२-०१ , समय : १९:०२:०६ , २ घन्टा अगाडि