रुपन्देही खबर , ६५ पटक हेरिएको
मंसिर १८
गाजापट्टीको खान युनिस पश्चिममा रहको अल–मवासी क्षेत्रका विस्थापितहरू रहेको ठाउँमा इजरायलीले हवाई आक्रमण गर्दा पाँच जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये दुईजना बालबालिका पनि रहेको बीबीसीले जनाएको छ ।
त्यहाँ रहेको कुवेत फिल्ड अस्पतालका कर्मचारीहरुले आक्रमणमा घाइते ३२ जनाको उपचार गरिएको बताएका छन् । हमासले यो कारबाहीलाई बर्बर, अन्धाधुन्ध र युद्धविरामको स्पष्ट उल्लङ्घन भनेको खबरमा उल्लेख छ ।
७ अक्टोबर सन् २०२३ मा हमासले दक्षिण इजरायलमा गरेको आक्रमणमा झन्डै १२ सयको ज्यान जानुका साथै साढे दुई सय भन्दा धेरै बन्धक बनाएपछि इजरायलले गाजामा सैन्य अभियान शुरु गरेको हो । गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता इजरायली आक्रमणमा ७० हजारभन्दा धेरै प्यालेस्टिनी नागरिकले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित मिति: २०२५-१२-०४ , समय : ११:०९:०३ , ४ घन्टा अगाडि