रुपन्देही खबर , १३० पटक हेरिएको
लक्ष्मीनगर, मंसिर २४
रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित लक्ष्मीनगरमा सडक विस्तारका लागि सडक क्षेत्राधिकारभित्र रहेका संरचना हटाउन मंगलबारदेखि डोजर चलाइएको छ । सडक क्षेत्राधिकारभित्र परेका घर, टहरा तथा पर्खाल भत्काउने काम मंगलबार बिहानदेखि सुरु गरिएको हो । सडक विस्तार कार्यको सुरुवात रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवको घरको पर्खाल हटाएर गरिएको छ । सार्वजनिक सडक विस्तार सबैका लागि समान रूपमा लागू हुने सन्देश दिन अध्यक्षकै संरचना हटाएर काम अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष यादवका अनुसार करिब दुई किलोमिटर सडक फराकिलो बनाएर निर्माण गर्न ‘साइट क्लियरेन्स’को काम सुरु गरिएको हो । मंगलबार मात्र १५ भन्दा बढी घर तथा संरचनामा डोजर चलाएर हटाइएको उहाँले जानकारी दिनुभयो ।

उक्त सडक विस्तार परियोजना ३ करोड २ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी सम्झौता भइसकेको अध्यक्ष यादवले बताउनुभयो । सडकलाई व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले चरणबद्ध रूपमा क्षेत्राधिकारभित्रका संरचना हटाइने उहाँको भनाइ छ ।
सडक विस्तार सम्पन्न भएपछि स्थानीय बासिन्दा तथा सवारी साधनलाई आवतजावतमा सहजता आउने र दुर्घटनाको जोखिमसमेत न्यूनीकरण हुने विश्वास स्थानीय तहले व्यक्त गरेको छ ।
प्रकाशित मिति: २०२५-१२-१० , समय : ०९:४३:१० , ४ दिन अगाडि