रुपन्देही खबर , १७४ पटक हेरिएको
भैरहवा, मंसिर २४
देशभरका केही भन्सार कार्यालयमा हाल देखापरेका प्राविधिक अवरोध, सेवा ढिलाइ र डिजिटल प्रणाली अस्थिरताका कारण आयात–निर्यात प्रक्रियामा अनावश्यक जटिलता सिर्जना भएको छ। यसले व्यवसायीहरूको समय र लागत बढाएको र समग्र व्यापारिक वातावरण अस्थिर बनाएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले जनाएको छ।
संघले सानो गल्तीका आधारमा अत्यधिक जरिवाना लगाउने र भन्सार प्रक्रियामा ढिलाइ हुने घटनामा तत्काल सुधार आवश्यक रहेको जनाएको छ। साना त्रुटिहरूको व्यवस्थापन सरकार स्वयंले गरी व्यापार सहजीकरणमा भन्सारका सबै अंगको सहयोग सुनिश्चित गर्नुपर्ने संघको माग छ। यसले आयातकर्ताहरू र एजेन्टहरूको समय र लागत बचत गर्नेछ।
व्यापारिक समुदायको समस्यालाई प्रभावकारी रूपमा उजागर गर्न र शीघ्र समाधान खोज्न, नेपाल भन्सार एजेण्ट संघ, सिद्धार्थनगर, रुपन्देहीले मंसिर २३ गते आयोजना गरेको कलम बन्द कार्यक्रम प्रति संघले पूर्ण समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ। संघले भन्सार एजेन्टले उठाएका मागहरू न्यायोचित रहेको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले भने, “केवल दण्ड र जरिवाना थोपारेर व्यापार–व्यवसाय वृद्धि सुनिश्चित हुने छैन। सरकारले उदार र व्यवसायमैत्री नीति अवलम्बन गरी व्यवसाय सहजीकरणमा सबै कदम चाल्नुपर्छ।”
संघले सम्बन्धित निकायहरूलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्दै भन्सार प्रक्रियामा सहजता र पारदर्शिता सुनिश्चित गर्न सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिएको छ।

प्रकाशित मिति: २०२५-१२-१० , समय : ११:२३:४८ , २ दिन अगाडि