कुलोमै बगाइँदै औद्योगिक विष: ओमसतिया–५ मा नियामक निकाय असफल

पानी, खेत र स्वास्थ्य सबै संकटमा

उर्मिला यादव , २९८  पटक हेरिएको

भैरहवा, मंसिर २४

रुपन्देहीको ओमसतिया गाउँपालिका–५ मा सञ्चालित माया तेल उद्योगबाट निस्किने फोहोर पदार्थ खुलेआम सार्वजनिक कुलोमा बगाइँदा स्थानीय बासिन्दाको स्वास्थ्य, कृषि र वातावरण गम्भीर जोखिममा परेको पाइएको छ । उद्योगको लाभका लागि स्थानीयको जीवन र प्रकृतिमाथि खेलबाड भइरहेको भन्दै बस्तीस्तरमा आक्रोश बढ्दै गएको छ ।

उद्योगबाट निस्किने तेलीय फोहोर, कालो र गन्ध आउने तरल पदार्थ कुनै पनि प्रकारको प्रशोधन नगरी कम्पनी परिसर बाहिरको कुलोमा मिसाइँदै आएको छ । सोही कुलो ओमसतिया–५ का किसानको खेतबारी सिँचाइ, बस्ती आसपासको पानी निकास तथा वर्षायाममा अन्य वडातर्फ बग्ने प्रमुख स्रोत हो ।
फोहोर मिसिएको कुलोबाट तेज दुर्गन्ध फैलँदा बस्तीमा बस्नै मुस्किल भएको स्थानीयको भनाइ छ । गर्मी र वर्षायाममा अवस्था झन् भयावह हुने गरेको छ ।

स्थानीय किसान संदेश कुमार यादवले कुलोको पानीका कारण बाली नष्ट हुन थालेको बताउनु भएको छ । “पहिले यही कुलोको पानीले तरकारी, धान सिँचाइ हुन्थ्यो । अहिले पानी कालो छ, तेल तैरिन्छ, गन्हाउँछ । सिँचाइ गरेपछि बाली सुक्छ । जमिन नै बिग्रँदै छ,” भन्दै उहाले आफनो पीडा सुनाउनु भयो । उहाले यस बिषयमा उद्योगपतिलाई जानकारी गराउदा समेत अटेरी गरेको गुनासो गर्नु भएको छ ।

फोहोरयुक्त कुलो बस्ती छेउमै बग्ने भएकाले छाला रोग, आँखामा पोल्ने, टाउको दुख्ने जस्ता समस्या बढ्दै गएको यादवको भनाइ छ । । स्थानीय एक महिलाहरूका अनुसार बालबालिका कुलो आसपास खेल्दा संक्रमणको जोखिम उच्च छ । “हामीलाई गन्धले टाउको दुख्छ, बच्चामा छाला रोग देखिएको छ,” एक स्थानीय महिलाको गुनासो छ। तर, यति गम्भीर विषयमा स्वास्थ्य निकायको औपचारिक अध्ययन र परीक्षण अहिलेसम्म नगरिएको उनले गुनासो गरिन ।

नेपालको वातावरण संरक्षण ऐन, २०७६ तथा औद्योगिक मापदण्ड अनुसार कुनै पनि उद्योगले फोहोर बाहिर फाल्नुअघि फोहोर प्रशोधन प्रणाली ( ) जडान गरी वातावरणमैत्री तरिकाले व्यवस्थापन गर्नुपर्ने स्पष्ट व्यवस्था छ।

तर माया तेल उद्योगले ती कानुनी मापदण्डको अवहेलना गर्दै खुला कुलोमा फोहोर बगाइरहेको स्थानिय राधेश्याम यादव आरोप छ । उहा भन्नु हुन्छ गाइ भैसीले पोखरीको पानी पिउन छोडे, पानी खाए बिरामी पर्छन ।
उहा भन्नु भयो यो केवल लापरवाही हो कि नियामक निकायको मौन सहमति भन्ने प्रश्न गहिरिँदै गएको छ ।

उजुरी थुप्रै, कारबाही शून्य

स्थानीयवासीले वडा कार्यालय र गाउँपालिकामा पटक–पटक मौखिक तथा सामूहिक गुनासो गरिसकेको बताउँछन्। तर अहिलेसम्म न प्रभावकारी अनुगमन भयो, न त उद्योगलाई सुधारका लागि बाध्य पारियो ।

स्थानीय ओमप्रकाश भन्नु हुन्छ “यदि सम्बन्धित निकायले सुरुदेखि अनुगमन गरेको भए आज यस्तो अवस्था आउँदैनथ्यो। उद्योग चल्ने हो भने नियम पनि पालना हुनुपर्छ ।”

औद्योगिक अनुगमन र वातावरणीय संरक्षण ओमसतिया गाउँपालिकाको जिम्मेवारीभित्र पर्छ । तर उद्योगको फोहोर व्यवस्थापनबारे वातावरण शाखा, स्वास्थ्य शाखा तथा सम्बन्धित निकायबाट संयुक्त अनुगमन नहुनु गम्भीर प्रश्नको विषय बनेको छ।स्थानीयका अनुसार उद्योग प्रभावशाली भएपछि प्रशासन मौन बसेको आशंका पनि उब्जिएको छ।

स्थानीयवासीले तत्काल माया तेल उद्योगमा उच्चस्तरीय अनुगमन, फोहोर प्रशोधन प्रणाली अनिवार्य जडान, कुलो र खेतमा पुगेको प्रदूषण रोक्ने स्पष्ट कार्ययोजना, स्वास्थ्य र वातावरणीय असरबारे वैज्ञानिक अध्ययन र दोषीमाथि कानुनी कारबाही को माग गरेका छन् । माग सम्बोधन नभएमा चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।

प्रकाशित मिति: २०२५-१२-१० , समय : २०:५३:१० , २ दिन अगाडि