रुपन्देही खबर , १०४ पटक हेरिएको
भैरहवा,मंसिर २५
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। दुर्घटनापछि फरार रहेका टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब ६:४० बजे सुनवल नगरपालिका–४ कृष्ण मन्दिर अगाडि पूर्व–पश्चिम राजमार्गमा लु ३१ प ७५३१ नम्बरको मोटरसाइकललाई अज्ञात सवारी साधनले ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भए ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाको कमाण्डमा खटिएको प्रहरी टोलीले दुवै घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल परासी पुर्याएको थियो।
उपचारका क्रममा सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा कार्यरत, हाल सुनवल–५ बस्ने १८ वर्षीय दुर्योधन यादवको बिहान ७:२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकल चालक २१ वर्षीय रमनन्द महरा चमार भने सामान्य घाइते छन्।
दुर्घटनापछि फरार सवारी साधन र चालकको खोजीका क्रममा घटनास्थलमा भेटिएका प्रमाण तथा CCTV फुटेजको विश्लेषणपछि प्रहरीले दिउँसो करिब २ बजे सुनवल–१ स्थित बी एण्ड बी ग्यारेजबाट लु २ ख ३५४२ नम्बरको टिप्पर बरामद गरेको हो। सो टिप्परका चालक, सुनवल–१ निवासी २५ बर्षिय ध्रुव सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार घटनाको प्रकृति, चालकको लापरवाही तथा सवारी साधनको सम्बन्धमा विस्तृत अनुसन्धान भैरहेको छ ।
प्रकाशित मिति: २०२५-१२-११ , समय : १६:५८:२० , २२ घन्टा अगाडि