रुपन्देही खबर , ७७ पटक हेरिएको
लुम्बिनी,मंसिर २६
लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना भएको छ । चीनको नानकाई विश्वविद्यालय, मकाउ इन्टरनेशनल थिङ्कट्याङ्को सहकार्यमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना भएको हो ।
हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना गर्ने सम्बन्धी त्रिपक्षीय सहकार्य सम्झौतामा २०८२ मंसिर २५ गते लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य र मकाउ इन्टरनेशनल थिङ्कट्याङ्का अध्यक्ष प्राध्यापक स्वी हाओले हस्ताक्षर गर्नुभयो ।
इन्ष्टिच्युटमार्फत दुई देशबीचको सम्बन्न्ध, बौद्ध दर्शन, कला, संस्कृतिका विषयमा अध्ययन अनुसन्धान हुनेछ । सो अवसरमा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति बज्राचार्यले हिमाली बौद्ध परम्परा, पुरातत्वको अध्ययन अनुसन्धान जरुरी रहेको भन्दै विश्वविद्यालयबाट त्यसका लागि इन्ष्टिच्युट स्थापना गरिएको बताउनुभयो ।
नानकाई विश्वविद्यालय, स्कुल अफ फिलोसोफीका प्राध्यापक चाओ वनले दुई देशबीचमा रहेको हिमालय बौद्ध संस्कृति, कला साहित्यको अनुसन्धानले दुई देशको सम्बन्धलाई अझ सुमधुर पार्ने बताउनुभयो । उहाँले इन्ष्टिच्युटमार्फत संयुक्तमा रुपमा अध्ययन अनुसन्धान र प्रकाशनहरु गरिने बताउनुभयो ।
मकाउ इन्टरनेशनल थिङ्कट्याङ्का अध्यक्ष प्राध्यापक स्वी हाओले इन्ष्टिच्युटमार्फत अनुसन्धान क्रियाकलाप गर्नका लागि विश्वविद्यालयसंग सहकार्य गर्न पाएको खुसी व्यक्त गर्नुभयो । उहाँले हिमालयन पेरिफेरिको अध्ययन अनुसन्धानले चीन नेपाल सम्बन्धलाई अझ बलियो बनाउने र अध्येताहरुमा ज्ञान प्रवद्र्धन हुने बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरीले हिमालय बौद्ध संस्कृतिको अध्ययन अनुसन्धानका लागि इन्ष्टिच्युट स्थापना महत्वपूर्ण हुने बताउनुभयो ।
इतिहास कायम गरेका गुम्बा संस्कृतिको अध्ययनको खाँचो औल्याउदै अव विश्वविद्यालयले इन्ष्टिच्युटमार्फत संयुक्त रुपमा अनुसन्धान र प्रकाशन गर्ने बताउनुभयो ।
प्रकाशित मिति: २०२५-१२-१२ , समय : १९:५२:४६ , ४ घन्टा अगाडि