रुपन्देही खबर , ९७ पटक हेरिएको
भैरहवा, मंसिर २६
सम्मरीमाई गाउँपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना (LDCRP) प्रमाणिकरण तथा हरित उद्यमीलाई बीउ पुँजी वितरण कार्यक्रम आज सफलतापूर्वक सम्पन्न गरिएको छ। विकास तथा प्रकोप व्यवस्थापन केन्द्रको समन्वय तथा सम्मरीमाई गाउँपालिका र Misereor Germany/KZE को सहयोगमा मंसिर २६ गते आयोजित कार्यक्रम गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिकाले तयार पारेको स्थानीय जोखिम विश्लेषण, जलवायु अनुकूलन तथा न्यूनीकरण रणनीति, उत्थानशीलता अभिवृद्धि उपाय र स्थानीय कार्ययोजना औपचारिक रूपमा अनुमोदन तथा प्रमाणित गरिएको जनाइएको छ। यस योजनाले गाउँपालिकामा विपद् जोखिम कमी, जलवायु परिवर्तन अनुकूलन तथा दीगो विकासका कामलाई संस्थागत गर्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमकै क्रममा SIYB (Start and Improve Your Business) र तरकारी खेतीसम्बन्धी प्राविधिक तालिम पूरा गरेका १६ जना हरित उद्यमीलाई बीउ पुँजी वितरण गरिएको छ। स्थानीय स्तरमा उद्यमशीलता विकास, स्वरोजगार प्रवर्द्धन तथा कृषि उत्पादनमा आत्मनिर्भरता बढाउने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ। कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला संस्थाका प्रतिनिधि, प्राविधिक टोली र स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रकाशित मिति: २०२५-१२-१२ , समय : २०:१५:२९ , ४ घन्टा अगाडि