यही पुस २३ देखि २६ गतेसम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

रुपन्देही खबर , ६६  पटक हेरिएको

काठमाण्डाै, पुस १०

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ गतेदेखि शुरू हुने भएको छ । पुस २६ गतेसम्म त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा पाँच वटा टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष रञ्जन खड्काले प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब र एभरेस्ट भलिबल क्लब सहभागी हुने जानकारी दिनुभयो ।

नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि नकआउटका आधारमा खेल सञ्चालन गरिने आयोजकले जनाएको छ । राष्ट्रिय महिला भलिबलको विजेता टोलीले पाँच लाख, उपविजेता टोलीले दुई लाख ५० हजार र तेस्रो हुनेले एक लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको उद्घाटन समारोहमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँ नगदसहित शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२५-१२-२५ , समय : १८:४३:२३ , ५ घन्टा अगाडि