भैरहवामा सिसा रुपन्देहीद्वारा दोस्रो खेल महोत्सव २०८२ सुरु

खेलकुदले अनुशासन,नेतृत्व र स्वस्थ प्रतिस्पर्धाको विकास गर्नेमा जोड

उर्मिला यादव यात्री , १०३  पटक हेरिएको

भैरहवा,पुस १२

सिद्धार्थ इन्टिग्रेटेड स्कुल एसोसिएसन (सिसा) रुपन्देहीको आयोजनामा शुक्रबारदेखि भैरहवामा दोस्रो खेल महोत्सव २०८२ सुरु भएको छ ।सिसाका अध्यक्ष एल.बि. रौतारको अध्यक्षता तथा खेल हेड अफिसियल भरत गिरीको प्रमुख आातिथ्यतामा खेल महोत्सव सुरु भएको हो ।

बिद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासलाई लक्षित गर्दै आयोजना गरिएको यस खेल महोत्सवले विद्यालयस्तरमा खेलकुद संस्कृतिको प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

कार्यकमको उदघाटन गर्नु हुदै प्रमुख अतिथी गिरीले खेलकुद विद्यार्थी जीवनको अभिन्न अङ्ग भएको बताउदै सानै उमेरदेखि खेलमा संलग्न हुँदा शारीरिक स्वास्थ्य मात्र नभई मानसिक सन्तुलन र सकारात्मक सोच विकास हुने बताउनु भएको छ । उहाले विद्यालयस्तरबाटै खेलकुदलाई प्राथमिकता दिइनु भविष्यका लागि दक्ष खेलाडी उत्पादन गर्ने आधार हुने धारणा राख्दै सिसाले थालेको यो पहल प्रशंसनीय रहेको बताउनु भएको छ ।

यस्तै गरी सिसाका सल्लाहकार तथा खेल संयोजक अमित यादवले स्वागत मन्तव्य राख्दै खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई विद्यार्थीको जीवन निर्माणसँग जोडिएको महत्वपूर्ण आधार भएको बताउनु भएको छ । उहाले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, सहकार्य र नेतृत्व क्षमता विकास गराउने उल्लेख गर्दै पढाइसँगै खेलकुदलाई समान महत्व दिनुपर्ने धारणा राख्नु भएको छ । उहाले यस्ता प्रतियोगिताले विद्यार्थीभित्र लुकेको प्रतिभा उजागर गर्ने अवसर सिर्जना गर्ने बताउनु भएको छ ।

यस्तै गरी सिसाका अध्यक्ष एल.बी. रौतारले सिसा स्थापना हुनुको मुख्य उद्देश्य नै निजी विद्यालयहरूबीच आपसी सहकार्य, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीको सर्वाङ्गीण विकास भएको बताउनु भएको छ । उहाले खेल महोत्सवजस्ता कार्यक्रमले विद्यार्थीहरूलाई स्वस्थ प्रतिस्पर्धा, आपसी सद्भाव र मित्रता को भावना विकास गराउने भन्दै आगामी दिनमा यसलाई अझ व्यवस्थित र व्यापक बनाइने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

खेल महोत्सवमा सिसा अन्तर्गत रहेका ब्र्राइट स्टार इंगलिस बोडिंग स्कुल सिनपा १, मोर्डन पब्लिक हाइस्कुल सिनपा ८, सिद्धार्थ एकेडेमी सिनपा ७ रुपन्देही र युनिक पब्लिक स्कुल ओमसतिया ४ रुपन्देहीको सहभागिता रहेको छ । विभिन्न खेल विधामार्फत विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी छनोट गरी उनीहरूको क्षमता अभिवृद्धिमा सहयोग गरिने लक्ष्य लिइएको सिसाले जनाएको छ ।

प्रतियोगितामा खेल सहसंयोजक मनोज जिसी, सहायक हेड अफिसियल अजिता रायमाझी, कमला रायमाझी, गंगा चौधरी, खेल शिक्षक बिशिष्ठ अतिथी नारायण कश्यप लगायत बिद्यार्थी, शिक्षकहरुको सहभागिता रहेको छ । भने कार्यकम संचालन ब्र्राइट स्टार इंगलिस बोडिंग स्कुलका सहायक प्रधानाध्यापक तथा सिसा रुपन्देहीका सचिव राहुल यादवले गर्नु भएको थियो ।

शुक्रवार सिनियर छात्र बिच एक सय मिटर दौडमा ब्राइट स्टारका आदित्य चौधरी प्रथम, मोर्डन पब्लिकका आकाश कोहार द्धितीय , सिद्धार्थ एकेडेमीका श्याम मोहन यादव तृतीय भएका छन । यस्तै गरी शुक्रबार नै भएको सिनियर छात्रा बिच एक सय मिटर दौडमा युनिक पब्लिकका अनुष्का अग्रहरी प्रथम, मोर्डन पब्लिकको चादनी कोइरी द्धितीय र ब्राइट स्टारको निशा गुप्ता तृतीय हुनु भएको छ ।

जुनियर छात्र तर्फ भएको एक सय मिटर भएको दौडमा युनिक पब्लिकका सेहबान मुसलमान प्रथम, सिद्धार्थ एकेडेमीका प्रशान्त बि.क.द्धितीय, ब्राइट स्टारका प्रियंशु गुप्ता तृतीय भएका छन । यस्तै गरी जुनियर छात्रा बिच एक सय मिटर भएको दौडमा सिद्धार्थ एकेडेमीका रुबिका धवल प्रथम, ब्राइट स्टारका सायरा पठान द्धितीय र युनिक पब्लिकका पुजा पुन मगर तृतीय भएका छन । यस्तै गरी आज शनिबार पनि बिभिन्न खेलहरु हुदैछन ।

प्रकाशित मिति: २०२५-१२-२७ , समय : ०९:४८:४९ , ४ घन्टा अगाडि