माइती नेपाल रुपन्देहीद्धारा एक बर्षमा २ सय १ जनाको उद्धार

रुपन्देही खबर , ३६३  पटक हेरिएको

भैरहवा, पुस १४

खुला सीमामा मानव बेचबिखनको उच्च जोखिम कायमै रहेको अवस्थामा माइती नेपाल आवधिक गृह भैरहवा रुपन्देहीले सीमा नाकाबाट २०१ जनाको उद्धार गरेको छ । माइती नेपाल रुपन्देहीले शुक्रबार भैरहवामा वार्षिक प्रगतिबिवरणका बारे पत्रकार सम्मेलन गर्दै सन २०२५ मा दुई सय एक जनाको उद्धार गरेको सार्वजनिक गरेको हो ।

यस्तै गरी भारतका विभिन्न स्थानबाट ३ जनाको उद्धार गरिएको छ भने सीमाक्षेत्रमा १२ हजार ८ सय ९५ जनालाई परामर्श सेवा प्रदान गरिएको छ । भने जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत १ हजार १९ जनालाई परार्मश दिइएको माइती नेपाल आवधिक गृह भैरहवा रुपन्देहीका कार्यक्रम संयोजक माया क्षेत्रीले जानकारी दिनु भएको छ ।

मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका महिला, बालबालिका र सिमान्तकृत समुदायको संरक्षण, उद्धार, पुनस्र्थापना, सिप विकास र सशक्तीकरणमा संस्था निरन्तर सक्रिय रहेको यस संस्थाले जनचेतना अभिवृद्धिका लागि एक बर्षमा ७ हजार ४ सय ९० थान सूचना तथा प्रचार सामग्री वितरण गरेको छ । यस्तै गरी खोजतलास सम्बन्धी निवेदनका आधारमा २४ जनाको खोजी गर्दा १२ जना फेला परेका छन् भने घरेलु हिंसा सम्बन्धी १० वटा निवेदन परेका छन्। यस्तै २ हजार ७ सय ९७ वटा सार्वजनिक यातायात साधनको चेकजाँच गरिएको र सुनौली नाकाबाट सिधै उद्धार गरिएका ४६ जनालाई सुरक्षित रूपमा फिर्ता गरिएको कार्यक्रम संयोजक क्षेत्रीले जानकारी दिनु भयो ।

माइती नेपाल रुपन्देहीका अनुसार १८ देखि २५ वर्ष उमेर समूहका किशोरीहरू मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा छन्।वि.सं. २०४९ मा “हाम्रो आवाजः मानव बेचबिखन मुक्त समाज” भन्ने नारासहित काठमाडौँमा स्थापना भएको माइती नेपालले हाल नेपालका १८ जिल्लामा १४ वटा आवासीय गृह सञ्चालन गर्दै सेवा प्रदान गरिरहेको छ ।

कार्यक्रम संयोजक क्षेत्रीले जनचेतनाको अभाव, लैङ्गिक विभेद, घरेलु हिंसा, सामाजिक कुरीति, बेरोजगारी, खुला सिमाना र सरोकारवालाबीचको समन्वय अभाव मानव बेचबिखन विरुद्धको प्रमुख चुनौती रहेको बताउनु भएको छ । उहाँले यी समस्या समाधानका लागि जनचेतना अभिबृद्धि, सरोकारवालाको बिचमा समन्वय तथा सहकार्य,कानुनहरुको प्रभावकारी रुपमा पालना लगायत आन्तरिक तथा सिमा क्षेत्रमा अनुगमन संयन्त्रको निमार्ण आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रकाशित मिति: २०२५-१२-२९ , समय : ११:४३:५७ , २ महिना अगाडि