लागू औषधसहित सुनवलबाट तीन जना पक्राउ

रुपन्देही खबर , १६८  पटक हेरिएको

नवलपरासी, पुस १९

नवलपरासी (पश्चिम) को सुनवल नगरपालिकामा लागू औषधसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत महाराजगन्ज, ठुटिबारी बस्ने वर्ष २० का राज रौनियार, सोही स्थान बस्ने वर्ष ४२ का राम अक्ष रौनियार, र वर्ष ४५ का राजिब भन्ने राजु चौहान रहेका छन्।

प्रहरीका अनुसार आज दिउँसो करिब साढे दुई तिर सुनवल नगरपालिका–७ सोमाई टोला स्थित भित्री सडक खण्डबाट इलाका प्रहरी कार्यालय सुनवल र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट ३५ पुरिया प्लास्टिकमा प्याक गरिएको ४४ ग्राम ५४ मिलिग्राम लागू औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ तथा उनीहरूले प्रयोग गरेको भारतीय मोटरसाइकल समेत बरामद गरिएको छ।

प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ। यसैबीच प्रहरीले लागू औषधको सेवन तथा कारोबार नगर्न आम नागरिकलाई आग्रह गर्दै “लागू औषधको सेवन नगरौँ, दुर्व्यसन विरुद्ध एकजुट हौँ, समाजलाई सुरक्षित बनाऔँ” भन्ने सन्देश पनि दिएको छ।

प्रकाशित मिति: २०२६-०१-०३ , समय : २१:४५:१२ , २ दिन अगाडि