समाजसेवी राजेन्द्र यादवको सहयोगमा विपन्न परिवारको घर निर्माण

रुपन्देही खबर , १२१  पटक हेरिएको

भैरहवा, पुस २७

मायादेवी गाउँपालिका वडा नम्बर ६ मा विगत १५ वर्षदेखि बसोबास गर्दै आउनुभएका ६० वर्षीय रामबृक्ष सहानीको चार कोठे घर निर्माणमा स्थानीय समाजसेवी राजेन्द्र यादवले सहयोग गर्नुभएको छ।
आर्थिक अवस्था कमजोर रहेका सहानीको आवास निर्माणका लागि यादवले इँटा, गिट्टी, बालुवा लगायत आवश्यक निर्माण सामग्री निःशुल्क उपलब्ध गराउँदै उल्लेखनीय योगदान गर्नुभएको हो।

यसअघि सहानी केही समय सडक पेटीमा झुप्रो बनाएर बस्न बाध्य रहनुभएको थियो। यादवको सहयोगपछि सहानी परिवार सुरक्षित र स्थायी आवास पाउने अवस्थामा पुगेको छ।

यसअघि पनि समाजसेवी यादवले विपन्न तथा असहाय परिवारलाई खाद्यान्न वितरण, आर्थिक अभावमा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग, बिरामीको उपचारका लागि आर्थिक सहयोग, प्राकृतिक विपद्का समयमा राहत सामग्री वितरण लगायत विभिन्न सामाजिक कार्य गर्दै आउनुभएको स्थानीयवासी बताउँछन्।

यादवको निरन्तर सामाजिक सेवाप्रति स्थानीयवासी तथा सरोकारवालाहरूले उच्च प्रशंसा व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०२६-०१-११ , समय : १०:००:२५ , १६ घन्टा अगाडि