रुपन्देही खबर , ४१ पटक हेरिएको
बुटवल,पुस २८
नेपाल यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा बुटवल यातायात प्रा.लि.का संचालक कबिन्द्रमान श्रेष्ठ निर्वाचित हुनु भएको छ । महासंघको दोस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनमा बुद्ध भूमी ट्याक्सी सेवा प्रा.लि.का गोबिन्द बहादुर कुवरलाई ७ मतले पराजित गरि श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनु भएको हो । शनिवार भएको निर्वाचनमा श्रेष्ठले २३ र कुवरले १६ मत प्राप्त गर्नु भएको थियो ।
यस्तै महासंघको सचिव पदमा २३ मत प्राप्त गरि बिजय कुवर निर्वाचित हुनु भएको छ । कुवरले राम प्रसाद खनाललाई पराजित गर्नु भएको हो । ४० जना मतदाताले मतदान गरेको निर्वाचनमा खनालले १६ मत प्राप्त गर्नु भएको थियो । कोषाध्यक्ष र सदस्य पदका सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत अर्जुन कार्कीले जानकारी दिनु भयो ।
निर्वाचन समितिका अनुसार महासंघको कोषाध्यक्षमा एजाज वारिस तथा सदस्यमा राम बहादुर शाही, बिष्णु बहादुर खत्री, खडक बहादुर गुरुङ्ग, नरिनारायण घिमिरे, मोहम्मद सहिद मुसलमान र सुनिल गदाल निर्विरोध निर्वाचित हुनु भएको छ । यसअघि साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै नेपाल यातायात ब्यवसायी महासंघका उप महासचिव शम्भु प्रसाद रिजालले यातायात ब्यवसायलाई स्वच्छ प्रतिस्पर्धा मार्फत सम्मानित र मर्यादित गराउनुपर्ने बताउनु भएको छ । उहाले जनजीवनलाई चलायमान बनाउने, व्यापार, पर्यटन र रोजगारी सिर्जना गरि देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको यातायात ब्यवसाय ब्यवसायीहरुकै अस्वस्थ प्रतिष्प्रधाका कारण मर्यादित हुन नसकेको औल्याउनु भयो ।
महासंघ लुम्बिनी प्रदेशका संयोजक सन्जिव रोक्काको अध्यक्षतामा भएको साधारण सभामा महासंघका केन्द्रिय सदस्य रबिन्द्रमान श्रेष्ठ, प्रदेश सचिव दीपक प्रसाद श्रेष्ठ, बुटवल यातायात प्रा. लि.का सल्लाहकार डिल बहादुर थापा, पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.का रामचन्द्र भुसाल लगायतले बोल्दै अव्यवस्थित नीति र कार्यान्वयन पक्षमा कमजोरी, ऐन–नियम स्पष्ट भए पनि प्रभावकारी कार्यान्वयन नहुने, सडक पूर्वाधारको अभाव, सवारी दुर्घटनाको उच्च जोखिम तथा इन्धन र सञ्चालन लागत वृद्धि यातायात क्षेत्रका प्रमुख समस्या र चुनौती भएको बताउनु भएको छ ।
प्रकाशित मिति: २०२६-०१-१२ , समय : १०:०१:२२ , ४ घन्टा अगाडि