रुपन्देही खबर , ७९ पटक हेरिएको
बर्दिबास, माघ २२
रेडियो नेपालबाट पहिलोपटक स्वर दिएको दिनदेखि आजसम्म लोक संगीतको मूलधार नछोडेका गायक बेल बहादुर परियारले आफ्नो नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ सार्वजनिक गरेका छन् । मङ्गलबार बर्दिबासमा आयोजित गीत विमोचन समारोहले उनको निरन्तर संघर्ष र साधनालाई पुनः उजागर गरेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा बर्दिबासस्थित गौतम होटलमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्यमन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा गीतको म्युजिक भिडियो विमोचन गरेका हुन् । कार्यक्रममा उपस्थित दर्शक–श्रोताले भिडियो अवलोकन गर्दै कलाकारप्रति उत्साहजनक प्रतिक्रिया व्यक्त गरेका थिए ।
गायक बेल बहादुर परियार र प्रतिमा अर्यालको स्वरमा सजिएको गीतले प्रेम, बिछोड र स्मृतिका भावनालाई सरल र मार्मिक शब्दमा प्रस्तुत गरेको छ । गीतको शब्द तथा संगीत स्वयं परियारकै रहेको छ भने राजिव शाहले आधुनिक स्वादमा एरेञ्ज, मिक्स तथा मास्टरिङ गरेका छन् ।
गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र सुजाता भट्टराईको अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफी राजाराम सिंखडा, छायाङ्कन सन्तोष तिमल्सिनाको रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले लोक संस्कृति संरक्षणमा यस्ता सिर्जनाको महत्वपूर्ण भूमिका रहने बताए । उनले स्थानीय कलाकारलाई प्रोत्साहन गर्दै बर्दिबासलाई सांस्कृतिक पहिचानको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।
प्रमुख अतिथि सारदा देवी थापाले गायक परियारको लामो सांगीतिक यात्रालाई संघर्षशील कलाकारका लागि प्रेरणादायी उदाहरणका रूपमा वर्णन गरिन् । सीमित स्रोत र प्रचारका बीच पनि निरन्तर सिर्जनामा लागिरहेका कलाकारलाई समाज र सञ्चार माध्यमले साथ दिनुपर्नेमा उनले जोड दिइन् ।
गीत विमोचन समारोहमा आफ्ना धारणा राख्दै गायक परियारले दर्शक–श्रोताको माया र विश्वासकै कारण आफू आजसम्म गीतसंगीतमै टिकिरहन सफल भएको बताए ।ॐकार टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘पञ्चामृत’ मिडिया पार्टनर रहेको गीत ‘फूल खसिगो, माया बसिगो’ ले लोक संगीतप्रेमीको मन जित्ने विश्वास कलाकारले व्यक्त गरेका छन् ।
प्रकाशित मिति: २०२६-०२-०५ , समय : २०:१६:५५ , ४ घन्टा अगाडि