रुपन्देही खबर , ११७ पटक हेरिएको
मर्चवार,माघ २७
रुपन्देहीको मर्चवारी गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा धार्मिक शक्तिपीठ मर्चवारी देवी मन्दिरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार घण्टी हस्तान्तरण गर्नुभएको छ ।
मन्दिर परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै सभापति लामिछानेले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।
उहाँले मर्चवारी देवी मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्व राष्ट्रिय स्तरमै रहेको बताउँदै यस्ता सम्पदाको संरक्षण र प्रवर्द्धनले धार्मिक पर्यटन विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमका क्रममा सभापति लामिछानेले यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजयी गराउन स्थानीय मतदातासँग आग्रह गर्नुभयो । उहाँले मर्चवारी क्षेत्रको समग्र विकासको सम्पूर्ण जिम्मा पार्टीले लिने प्रतिबद्धता जनाउँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा रोजगारीका क्षेत्रमा ठोस परिवर्तन ल्याइने बताउनुभयो । विकास, सुशासन र पारदर्शितालाई पार्टीको मुख्य एजेन्डा रहेको उहाँको भनाइ थियो ।
घण्टी हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, रास्वपा कार्यकर्ता, मन्दिर व्यवस्थापन समिति तथा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमका क्रममा मन्दिर व्यवस्थापन समितिले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता योगदानहरूले धार्मिक सम्पदाको संरक्षणमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरेको छ ।
प्रकाशित मिति: २०२६-०२-१० , समय : १३:१७:४२ , १७ घन्टा अगाडि