रुपन्देही खबर , १०८ पटक हेरिएको
भैरहवा,माघ २८
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नारासहित ओमसतिया गाउँपालिकामा चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२/८३ आजदेखि सुरु भएको छ । ओमसतिया गाउँपालिका–२ स्थित कर्मडाँडा खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष मन्जित कुमार यादवले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । उहाँले गाउँपालिकाले आगामी दिनमा पनि क्रिकेटसहित विभिन्न खेलकुद गतिविधिलाई निरन्तर प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले खेलकुद केवल मनोरञ्जन मात्र नभई सामाजिक रूपान्तरणको सशक्त माध्यम भएको बताउनुभएको छ । उहाँले युवामा बढ्दै गएको कुलत, नशा र नकारात्मक प्रवृत्तिबाट जोगाउन खेलकुद अत्यन्त प्रभावकारी उपाय भएको उल्लेख गर्नुभयो ।

“आजका युवा भोलिको नेतृत्व हुन भन्दै उनीहरूलाई स्वस्थ, अनुशासित र प्रतिस्पर्धी बनाउने आधार खेलकुद नै भएको उल्लेख गर्नु भयो । गाउँपालिकाले खेलकुदलाई शिक्षासँग जोडेर अगाडि बढाउनुपर्छ,” उपाध्यक्ष चौधरीले भन्नुभयो ।
उहाँले महिला, दलित, पिछडिएका वर्ग र ग्रामीण क्षेत्रका युवालाई खेलकुदमा सहभागी गराउन स्थानीय सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । खेलमैदान, तालिम र प्रतियोगिताको अभावले प्रतिभा ओझेलमा परिरहेको भन्दै उहाँले यस्ता प्रतियोगिताले लुकेका प्रतिभा उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।
“आज गाउँस्तरमा देखिएका खेलाडीहरू भोलि प्रदेश हुँदै राष्ट्रिय स्तरमा पुग्नेछन् भन्ने विश्वासका साथ गाउँपालिकाले खेलकुद पूर्वाधार विकासमा लगानी बढाउँदै लैजानेछ,” उहाँको भनाइ थियो ।

त्यसैगरी शिक्षा शाखा प्रमुख माधव राज पौडेलले स्वागत मन्तव्य राख्दै खेलकुदले जीवन सीप, अनुशासन र सहकार्यको भावना विकास गर्ने बताउनुभयो ।
कार्यक्रममा ओमसतिया गाउँपालिका–३ का वडाध्यक्ष प्रकाश सिंह चौधरीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो दिन आज २ वटा खेल आयोजना गरिएका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ६० हजार रुपैयाँ र दोस्रो हुने टिमले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रतियोगिताभर उत्कृष्ट अनुशासन देखाउने टिमलाई अनुशासन पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
गाउँपालिकाको आयोजनामा सञ्चालन भइरहेको यस प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकास र युवाको सकारात्मक परिचालनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २०२६-०२-११ , समय : १४:११:४२ , ४ घन्टा अगाडि