१ करोड ५३ लाखभन्दा बढी मतपत्र छपाइ सकियो, आजदेखि जिल्लामा पठाइँदै

रुपन्देही खबर , ७१  पटक हेरिएको

काठमाण्डौ, माघ २९

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले ५३ जिल्लाका १ सय १७ निर्वाचन क्षेत्रका लागि १ करोड ५३ लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न भइसकेको जनाएको छ ।

निर्वाचन आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीका अनुसार हिजो मात्रै ६ जिल्लाको मतपत्र छपाइ सकिएको हो । प्रत्यक्षतर्फको निर्वाचनका लागि कुल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगको लक्ष्य रहेको छ । हाल दैनिक रूपमा करिब १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ ।

आयोगले आजसम्म सबै मतपत्र छपाइ सम्पन्न गरी जिल्लामा पठाउने तयारी गरेको छ । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ र सङ्खुवासभाको मतपत्र छपाइ सकिएको छ ।

यस्तै सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी बर्दघाट सुस्ता पूर्व, पाल्पा, अर्घाखाँची, प्युठान, रुपन्देही र रोल्पा गरी ५३ जिल्लाको मतपत्र छपाइ पूरा भइसकेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०२-१२ , समय : ११:२६:१७ , ४ घन्टा अगाडि