भैरहवामा निःशुल्क कृत्रिम हातखुट्टा वितरण शिविर सञ्चालन हुने

रुपन्देही खबर , ६८  पटक हेरिएको

भैरहवा,फागुन २

भैरहवामा आर्थिक अभावका कारण कृत्रिम हातखुट्टा राख्न नसकेका व्यक्तिहरूका लागि निःशुल्क शिविर सञ्चालन हुने भएको छ। नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजना तथा मारवाडी सेवा समिति, भैरहवाको सहयोगमा फागुन ७ गतेदेखि ९ गतेसम्म यो शिविर सञ्चालन हुनेछ। दुर्घटना लगायत विभिन्न कारणबाट हातखुट्टा गुमाएका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले यो शिविरको आयोजना गरिएको हो ।

मारवाडी युवा संगठनले पत्रकार सम्मेलनमार्फत निःशुल्क शिविरबाट लाभ उठाउन सम्बन्धित व्यक्तिहरूलाई आह्वान गरेको छ। शारीरिक रूपमा अक्षम नागरिकहरूको कृत्रिम अंग निर्माणका लागि प्राविधिकहरूले नापजाँच गरेपछि सहयोग प्रदान गरिनेछ। नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष मनोजकुमार अग्रवालका अनुसार फागुन ७ गते भैरहवास्थित मारवाडी सेवा समितिको भवनमा प्राविधिकहरूले हातखुट्टा गुमाएका व्यक्तिहरूको नाप लिनेछन्। त्यसैगरी, फागुन ८ गते नापजाँच अनुसार कृत्रिम हातखुट्टा तयार गरी ९ गते सम्बन्धित व्यक्तिहरूलाई वितरण गरिनेछ।

उहाँले भैरहवामा कम्तीमा ५० जनालाई कृत्रिम हातखुट्टा प्रदान गरिने तयारी गरिएको र लाभग्राही बढे सोही अनुसार व्यवस्थापन गरिने पनि बताउनुभयो। मारवाडी सेवा समितिका सचिव हरिश सेठियाले भैरहवामा तेस्रोपटक यस्तो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो। अहिले कार्यक्रम सफल बनाउन दाता र सहयोगी जुटिरहेको उहाँको भनाई छ। संगठनले कृत्रिम हातखुट्टा शिविरका लागि यज्ञराज अग्रवाललाई राष्ट्रिय संयोजक र मनोज सिंघललाई स्थानीय संयोजक तोकेर तयारी गरिरहेको छ।

प्रकाशित मिति: २०२६-०२-१४ , समय : ०७:०८:०१ , ४ घन्टा अगाडि