रुपन्देही खबर , ८८ पटक हेरिएको
भैरहवा,फागुन २
सिद्धार्थ इन्ट्रिग्रेटेड स्कूल एशोसियसन ( सिसा )रुपन्देहीको आयोजनामा क्रिकेट प्रतियोगिता २०८२ सम्पन्न भएको छ। सिसा रुपन्देहीका अध्यक्ष एल.बी. रौतारको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिका–१० का वडाध्यक्ष सुर्जमान यादवको प्रमुख आतिथ्यतामा क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि यादवले विद्यालयस्तरमै खेलकुदको विकास हुनु सकारात्मक संकेत भएको बताउनु भएको छ । उहाले स्थानीय तहबाट यस्ता गतिविधिलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । उहाँले “खेलकुदले विद्यार्थीलाई स्वस्थ मात्र नभइ अनुशासित र जिम्मेवार नागरिक बनाउँने बिश्वास व्यक्त गर्नु भएको छ ।
त्यस्तै गरि सिसाका प्रमुख सल्लाहकार अमित यादवले प्रतियोगिताले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना र आत्मविश्वास बढाएको बताउनु भएको छ । उहाँले “यस्ता प्रतियोगिताबाट भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुग्ने जोड दिनु भयो ।
यस्तै गरि कार्यक्रममा बोल्दै सिसा तथा कार्यक्रमका अध्यक्ष एल.बी. रौतारले सिसा रुपन्देहीले पहिलो पटक आयोजना गरेको क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु खुशीको विषय भएको बताउनुभएको छ । उहाँले “विद्यार्थीहरूमा खेलकुदको माध्यमबाट अनुशासन, नेतृत्व र टिमवर्कको विकास गराउने आफ्नो मुख्य उदेश्य रहेकोले आगामी दिनमा पनि यस्तो प्रतियोगिता निरन्तर आयोजना गरिने प्रतिबद्धता गर्नु भएको छ ।
कार्यक्रममा सिसाका प्रमुख सल्लाहकार अमित यादव, सचिव राहुल यादव, विशिष्ट अतिथि भरत गिरी, कोषाध्यक्ष मनोज जिसी लगायतको सहभागिता रहेको थियो । भने खेल सञ्चालनमा एम्पायरको भूमिका बाबु लाल केवट र नारायण कश्यपले निर्वाह गर्नुभएको थियो।
प्रतियोगिताको पहिलो खेल सिद्धार्थ एकेडेमी र युनिक पब्लिक स्कुलबीच भएको थियो। उक्त खेलमा युनिक पब्लिक स्कुलले ९४ रनको लक्ष्य दिँदै सिद्धार्थ एकेडेमीलाई पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको थियो।
यस्तै दोस्रो खेल ब्राइट स्टार बोर्डिङ स्कुल र मोडर्न पब्लिक स्कुलबीच सम्पन्न भयो। उक्त खेलमा ब्राइट स्टारले ११४ रनको लक्ष्य प्रस्तुत गर्दै मोडर्न पब्लिक स्कुललाई पराजित गरी फाइनलमा स्थान सुरक्षित गर्यो।
फाइनल खेल ब्राइट स्टार बोर्डिङ स्कुल र युनिक पब्लिक स्कुलबीच अत्यन्तै प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भयो। फाइनलमा ब्राइट स्टार बोर्डिङ स्कुल प्रथम, युनिक पब्लिक स्कुल दोस्रो, मोडर्न पब्लिक स्कुल तेस्रो तथा सिद्धार्थ एकेडेमी सान्त्वना स्थानमा चित्त बुझाउन बाध्य भएको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेबापत ब्राइट स्टार बोर्डिङ स्कुलका रुपेश यादव र इरफान खान ‘म्यान अफ द म्याच’ घोषित भएका थिए।
विद्यालयस्तरीय खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताले स्थानीय स्तरमा सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ।
प्रकाशित मिति: २०२६-०२-१४ , समय : १०:२८:२६ , ३ घन्टा अगाडि