चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह

रुपन्देही खबर , ५०  पटक हेरिएको

काठमाण्डौ,फागुन ५

राष्ट्रिय मानवअधिकार आयोगले चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई आग्रह गरेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा व्यवस्थाको तयारी तथा मानवअधिकारको संरक्षण सम्बन्धमा सरकारका चारवटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीसँग छलफल गरी आयोगले भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न आग्रह गरेको हो ।

आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीसँग छलफल गरी सुरक्षा व्यवस्था चुस्त बनाउन आग्रह गरिएको बताउनुभयो । कार्यक्रममा आयोगका सदस्य, सचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

छलफलपछि आयोगले सुरक्षा निकायलाई आवश्यक सञ्चार, सुरक्षा र यातायातलगायत चुनावी सुरक्षासम्बन्धी सामग्रीको यथोचित व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा चुनावमा खटिने सम्पूर्ण कर्मचारीको सुरक्षा व्यवस्था र मानवअधिकार संरक्षणका लागि भएका कार्यहरू सम्बन्धमा जानकारी गराउन आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२६-०२-१७ , समय : ०९:५९:३४ , ४ घन्टा अगाडि