रुपन्देही खबर , ८६ पटक हेरिएको
भैरहवा,फागुन ५
ओमसतिया गाउँपालिकामा तेस्रो उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता २०८२ आजदेखि सुरु भएको छ । स्थानीय महिलाहरूलाई खेलकुदको माध्यमबाट जोड्दै उनीहरूको सशक्तिकरण गर्ने र लुकेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ गाउँपालिकाले तेस्रो उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु गरेको हो ।

प्रतियोगिताको उद्धघाटन गर्नु हुदै गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले घरभित्रको कामकाज र चुलोचौकोमा मात्र सीमित रहेका दिदीबहिनीहरूलाई घरबाहिर ल्याएर उनीहरूको आत्मविश्वास बढाउनु नै प्रतियोगिताको मुख्य लक्ष्य रहेको बताउनु भएको हो ।

उहाले महिलाहरूलाई सामाजिक गतिविधि तथा खेलकुदमा पनि अब्बल बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

यस्तै गरी गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादवले “महिला सशक्तिकरणका लागि खेलकुद प्रभावकारी माध्यम भएको बताउदै उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिताले स्थानीय तहमा रहेका महिला खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै उनीहरूलाई आत्मविश्वासी र अनुशासित बनाउने विश्वास ब्यक्त गर्नु भएको थियो । उहाले ओमसतिया गाउँपालिकाले आगामी दिनमा पनि महिलाहरूलाई खेलकुद, शिक्षा र सामाजिक गतिविधिमा सक्रिय बनाउने कार्यक्रमहरू निरन्तर अघि बढाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

यस्तै गरी स्वागत मन्तव्य राख्दै गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मदन पोखरेलले महिला सशक्तिकरण र खेलकुद विकासमा यस्ता प्रतियोगिताको महत्व बारे जोड दिदै “स्थानीय तहमा महिलाहरूको क्षमता, आत्मविश्वास र प्रतिभा उजागर गर्न उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता महत्वपूर्ण माध्यम बनेको बताउनु भयो । उहाले खेलकुदले स्वास्थ्य, अनुशासन र एकताको भावना विकास गर्नुका साथै ओमसतिया गाउँपालिका महिला सहभागिता बढाउने यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।
प्रतियोगिताका संयोजक कमल प्रसाद शर्माका अनुसार प्रतियोगितामा गाउँपालिकाभित्रका कुल ८ वटा टोलीले सहभागिता जनाएका छन् । जसमा वडा नम्बर १ बाट दुईवटा टोली, अन्य वडाहरूबाट एक–एक वटा टोली र गाउँपालिकामा कार्यरत महिला कर्मचारीहरूको एउटा टोलीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । बुधबारसम्म चल्ने यो प्रतियोगिताले महिलाहरूलाई सामाजिक तथा खेलकुदका गतिविधिमा सक्रिय हुन थप प्रोत्साहन मिल्ने विश्वास लिइएको छ ।
प्रकाशित मिति: २०२६-०२-१७ , समय : १९:२४:०९ , ४ घन्टा अगाडि