रुपन्देही खबर , १०७ पटक हेरिएको
भैरहवा,फागुन ७
राजनीति भाषणमै सीमित हुँदा किसानको खेत सुक्दै गएको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रुपन्देही–३ का उम्मेदवार फैज अहम्मद खाँन ले कृषि बिना विकास असम्भव रहेको धारणा व्यक्त गर्नु भएको छ ।

घरदैलो अभियानका क्रममा आज बिहीबार रुपन्देही क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को ग्रामीण बस्तीमा मतदातासँग मत माग्दै उहाले खेतमा पानी नपुगे सम्म नीति, योजना र नारा सबै निरर्थक हुने बताउनु भएको छ । “नेपाल कृषि प्रधान देश भनिन्छ, तर किसान वर्षेनी आकाशतिर हेरेर खेती गर्न बाध्य छन्,” उहाले भन्नु भयो ।
खाँनले सिंचाइलाई कृषि विकासको मूल आधार मान्नु भएको छ । उहाका अनुसार बोरिङ, ट्युबवेल, नहर मर्मत र वर्षाको पानी संकलन प्रणाली विस्तार नगरी उत्पादन बढाउने कुरा केवल कागजी सपना मात्र हुनेछ । त्यसैले आफ्नो प्राथमिकता खेत–खेतमा स्थायी सिंचाइ सुविधा पु¥याउने रहेको उहाले स्पष्ट पार्नु भयो ।

उहाले किसानले भोग्दै आएको अर्को समस्या मल र बीउको अभाव भएको उल्लेख गर्दै समयमै गुणस्तरीय मल, उन्नत बीउ र आधुनिक कृषि उपकरण उपलब्ध गराइने बताउनु भयो । “कम लागतमा बढी उत्पादन सम्भव छ, तर प्रविधि र राज्यको साथ चाहिन्छ,” उहाको भनाइ थियो ।

आफू किसान परिवारबाट आएको भन्दै खाँनले कागजमा होइन, माटोमा आधारित नीति बनाउने प्रतिबद्धता जनाउनु भयो । उत्पादन बढे पनि बजार नपाएर किसान मारमा पर्ने अवस्था अन्त्य गर्न सरकारी समर्थन मूल्य, स्थानीय संकलन केन्द्र र बिचौलियामाथि कडाइ गरिने योजना उहाले अघि सार्नु भएको छ ।
परम्परागत अन्नबालीसँगै नगदे बाली, तालिम, प्राविधिक सहयोग र प्रभावकारी बजारीकरणलाई जोड्दै उहाले चुनावपछि रुपन्देही–३ लाई कृषि प्रविधियुक्त, आत्मनिर्भर र किसानको भविष्य सुरक्षित हुने क्षेत्रका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको बताउनु भएको छ ।
प्रकाशित मिति: २०२६-०२-१९ , समय : १७:४८:०२ , १२ घन्टा अगाडि