जनताको गुनासो सुन्दै असलम खानको घरदैलो अभियान तीव्र

रुपन्देही खबर , १२०  पटक हेरिएको

भैरहवा, फागुन ७

जनता समाजवादी पार्टी (जसपा) नेपाल रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मोहम्मद असलम खानले जनताको गुनासो सुन्दै घरदैलो अभियानलाई तीव्र बनाउनु भएको छ ।

रुपन्देहीको ओमसतिया गाउपालिकाका विभिन्न बस्तीमा पुगेर खानले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी तथा समग्र विकाससँग सम्बन्धित समस्याहरू सुन्नु भएको हो । स्थानीयले उठाएका समस्याहरूलाई गम्भीर रूपमा लिँदै उहाले जनताका वास्तविक पीडा र मागहरू संसदमा मजबुत रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

घरदैलो अभियानमार्फत जनतासँग प्रत्यक्ष जोडिन पाउँदा आफूलाई थप जिम्मेवार महसुस भएको बताउँदै उम्मेदवार खानले भन्नु भयो , “जनताको आवाज नै मेरो राजनीतिक यात्राको आधार हो । जनताले भोगिरहेका समस्या समाधानका लागि संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।”

उहाँले विशेष गरी युवा पुस्ताद्वारा उठाइएका न्यायोचित माग र मुद्दाहरू सम्बोधन गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण, सुशासन र पारदर्शिताको प्रत्याभूति दिलाउने, र विगतका भ्रष्टाचार र अन्य काण्डहरूको पूर्ण छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्ने एजेन्डा अघि सारेको जानकारी दिनुभयो ।

कृषि क्षेत्रमा उहाँले कृषिमा आधुनिकीकरण, मल र बीउको सहज उपलब्धता, बिचौलियाको नियन्त्रण, स्वदेशमै मल कारखाना स्थापना, कृषि बजार, हाटबजार र कोल्ड स्टोर निर्माण, सिँचाइ प्रणाली विस्तार, ट्युबेल वितरण, कृषि कर न्यूनिकरण जस्ता पहलहरू गर्ने योजना जनतामाझ राख्नु भएको छ ।

त्यसैगरी, स्वास्थ्य र पूर्वाधार विकासमा प्रत्येक पालिकामा सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र, ग्रामीण सडक, खानेपानी, सिँचाइ प्रणाली, उच्च मावि तहको प्राविधिक शिक्षा, नवीकरणीय ऊर्जामा लगानी गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। साथै बढ्दो महङ्गी नियन्त्रण, अत्यन्त गरिब र विपन्न वर्गका लागि सस्तो दरमा खाद्यान्न उपलब्ध गराउन ‘रासन कार्ड’ वितरण गर्ने योजना पनि उहाँले अघि सार्नुभयो।


उम्मेदवार खानको घरदैलो अभियानले स्थानीय जनताको पीडा, माग र अपेक्षासँग प्रत्यक्ष सम्पर्क गराउँदै आगामी निर्वाचनमा जनताको विश्वास जित्ने रणनीतिलाई अझ सुदृढ बनाएको छ ।

प्रकाशित मिति: २०२६-०२-१९ , समय : २१:१६:५८ , ८ घन्टा अगाडि