धनीराम चौधरी राप्रपामा प्रवेश,राजेन्द्र लिङ्देनद्वारा स्वागत

रुपन्देही खबर , १२०  पटक हेरिएको

भैरहवा, फागुन १०

रूपन्देही क्षेत्र नं. १ को चुनावी माहोल थप रोचक बन्दै गएको छ। अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उल्लेखनीय मत ल्याएका नेता धनीराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेसँगै यस क्षेत्रको राजनीतिक समीकरणमा नयाँ तरंग उत्पन्न भएको छ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ‘ढकिया’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेका चौधरीले १३ हजार ९९२ सदर मत प्राप्त गरेका थिए। त्यो मतपरिणामले उनलाई क्षेत्र नं. १ का प्रभावशाली नेतामध्ये एकका रूपमा स्थापित गरेको थियो।

चौधरीलाई शनिबार रूपन्देही आउनु भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भैरहवामा एक कार्यक्रमका बीच पार्टीमा स्वागत गर्नु भएको हो । स्वागत समारोहमा बोल्दै लिङ्देनले चौधरीको आगमनले राप्रपा संगठनलाई तल्लो तहसम्म बलियो बनाउने विश्वास व्यक्त गर्नु भएको छ ।

राप्रपाबाट रूपन्देही–१ मा युवा उम्मेदवार प्रज्वल बोहोरा प्रतिस्पर्धामा हुनुहुन्छ । उहा राप्रपाका दिवंगत नेता दिपक बोहोराका सुपुत्र हुन्। पार्टीले चौधरीको समर्थन र सक्रियताले बोहोराको चुनावी यात्रालाई थप सहज बनाउने अपेक्षा गरेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार अघिल्लो निर्वाचनमा करिब १४ हजार मत प्राप्त गरेका चौधरीको पार्टी परिवर्तनले मतदाताको ध्रुवीकरणमा प्रभाव पार्न सक्ने देखिन्छ। रूपन्देही–१ मा कडा प्रतिस्पर्धा हुने अनुमानबीच राप्रपाले आफ्नो आधार विस्तार गर्ने रणनीतिअन्तर्गत यो कदम चालेको बुझिएको छ।

आसन्न निर्वाचनको पूर्वसन्ध्यामा भएका यस्ता राजनीतिक घटनाक्रमले रूपन्देही–१ को चुनावी परिणामलाई अझ चासोको विषय बनाएको छ।

प्रकाशित मिति: २०२६-०२-२२ , समय : ०५:५०:४८ , ५ घन्टा अगाडि