किसानको समस्या समाधान पहिलो प्राथमिकता : भिमबहादुर थापा क्षेत्री

रुपन्देही खबर , ३४६  पटक हेरिएको

नवलपरासी, फागुन १०

निर्वाचन क्षेत्र नम्बर २ नवलपरासी जिल्लाका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भिमबहादुर थापा क्षेत्रीले किसानका समस्या समाधानलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै चुनावी अभियान तीव्र पार्नुभएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका –८ बैकुण्ठपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले नेपाली कांग्रेस सधैं किसान र श्रमिकको पक्षमा उभिँदै आएको बताउनु भएको छ । थापाले “विकासका ठूला योजना अघि सार्नुभन्दा पहिले किसानको अधिकार सुरक्षित गर्न जरुरी रहेको जोड दिनु भयो ।

थापाले किसानले वर्षौंदेखि भोग्दै आएको मल अभाव, गुणस्तरीय बिउबिजनको कमी, सिँचाइ समस्या लगायत उत्पादनको उचित मूल्य नपाउने अवस्थालाई अन्त्य गर्न विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो । आफू निर्वाचित भए समयमा मल उपलब्ध गराउने, सिँचाइका दीर्घकालीन योजना सञ्चालन गर्ने र कृषि उपजको बजार व्यवस्थापनमा राज्यको प्रभावकारी भूमिका सुनिश्चित गर्ने उहाँको भनाइ छ ।

उहाँले कांग्रेस विजयी भए पाँच वर्षभित्र प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी पु¥याउने, परासीस्थित जिल्ला अस्पतालमा आइसियु सेवासहित स्तरोन्नति गर्ने तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने योजना अघि सार्नुभयो।

शिक्षा क्षेत्रलाई रूपान्तरण गर्ने लक्ष्यसहित प्राविधिक शिक्षामा जोड दिँदै क्रमशः निःशुल्क शिक्षाको कार्यान्वयनतर्फ अघि बढ्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । साथै, नवलपरासीलाई औद्योगिक करिडोरका रूपमा विकास गर्दै रोजगारी सिर्जना गर्ने र पर्यटकीय सम्भावना उजागर गरी जिल्लालाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने योजना रहेको बताउनुभयो।

फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसका पक्षमा मत दिन मतदातासँग अपिल गर्दै थापाले “समृद्ध नवलपरासी निर्माणका लागि कांग्रेसको जित आवश्यक छ” भन्ने धारणा राख्नुभएको छ ।

प्रकाशित मिति: २०२६-०२-२२ , समय : २२:०२:४६ , २ महिना अगाडि