रुपन्देही खबर , ८५ पटक हेरिएको
काठमाण्डौ, फागुन १२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आज इटहरीमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै उहाँले रास्वपाले देशमा उद्योगमैत्री वातावरण निर्माण गर्ने स्पष्ट पार्नुभयो। पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको ऐतिहासिक क्षेत्र भए पनि पछिल्लो समय नयाँ उद्योग खुल्न नसकेको उहाँको भनाइ थियो।
“खाने तेलदेखि मरमसलासम्मका उद्योग यहाँ सञ्चालनमा छन्, तर नयाँ उद्योग खोल्न खोज्दा राजनीतिक र प्रशासनिक झन्झट व्यहोर्नुपरेको छ,” नेता शाहले भन्नुभयो, “अब उद्योग खोल्न नेता र कर्मचारीलाई फकाउनुपर्ने अवस्था अन्त्य गरिन्छ।”
उहाँले उद्योग क्षेत्रमा पारदर्शिता, सुशासन र सरल प्रशासनिक प्रक्रिया लागू गरेर लगानीकर्तालाई सुरक्षित वातावरण दिने दाबी गर्नुभयो। देशको आर्थिक समृद्धिका लागि उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो। नेता शाहले निजी क्षेत्रको मनोबल उच्च राख्दै रोजगारी सिर्जना र स्थानीय उत्पादन प्रवर्द्धनमा पार्टी प्रतिबद्ध रहेको पनि बताउनुभयो।
प्रकाशित मिति: २०२६-०२-२४ , समय : २०:१६:४१ , ४ घन्टा अगाडि