उर्मिला यादव यात्री , १६९ पटक हेरिएको
भैरहवा, फागुन १३
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–३ को चुनावी माहोल तातेको छ । गाउँ–टोलमा उम्मेदवारहरूको बाक्लो उपस्थितिसँगै विकासका एजेन्डामाथि बहस चुलिँदै गएको छ । यही क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार फैज अहमद खाँन घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासमक्ष आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गरिरहनुभएको छ ।
बुधबार उहाँ सिद्धार्थनगर नगरपालिका वडा नं. १० का विभिन्न गाउँबस्तीमा पुग्नुभयो । स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, नाला तथा सडक पूर्वाधारको कमजोर अवस्थाबारे गुनासो सुन्नुभयो । ग्रामीण बस्तीमा अझै आधारभूत सेवा प्रभावकारी रूपमा नपुगेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका थिए । खाँनले आफू निर्वाचित भए ती समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

घरदैलो क्रममा भ्रष्टाचार नियन्त्रणको माग व्यापक रूपमा उठेको उहाँको भनाइ छ । “सुशासन बिना विकास सम्भव छैन,” भन्दै उहाँले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने दाबी गर्नुभयो । जनताले इमानदार र जवाफदेही नेतृत्व खोजिरहेको उल्लेख गर्दै उहाँले कामबाटै विश्वास जित्ने प्रतिबद्धता दोहोर्याउनुभयो ।

कृषि क्षेत्रलाई केन्द्रमा राख्दै खाँनले समयमै मलखाद र बीउबिजन उपलब्ध गराउने, उत्पादनको सुनिश्चित बजार व्यवस्थापन गर्ने तथा कृषिको आधुनिकीकरणमार्फत किसानको आम्दानी बढाउने योजना सुनाउनुभयो । किसानको मुख्य माग सम्बोधन गर्दै ‘नयाँ कृषि क्रान्ति’ सुरु गर्ने उहाँको अठोट छ ।

त्यसैगरी चुनावी बहसको प्रमुख विषय बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको मुद्दामा पनि उहाँले स्पष्ट धारणा राख्नुभयो । अन्य दलले यही मुद्दालाई चुनावी नारा बनाएको आरोप लगाउँदै विगतमा अवसर हुँदा पनि काम नगरेको टिप्पणी गर्नुभयो । आफू निर्वाचित भए विमानस्थल नियमित रूपमा सञ्चालन गराएर पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उहाँको प्रतिबद्धता छ ।

विमानस्थल सञ्चालनसँगै होटल तथा पर्यटन व्यवसाय चलायमान भई हजारौँ युवाले स्वदेशमै रोजगारी पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । वैदेशिक रोजगारीको बाध्यता घटाउने लक्ष्यसहित स्थानीय उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ ।
चुनावी माहोलसँगै विकासका ठोस एजेन्डा प्रस्तुत गर्दै खाँनले भैरहवालाई आधुनिक, व्यवस्थित र पूर्वाधार सम्पन्न सहरका रूपमा स्थापित गर्ने लक्ष्य दोहोर्याउनुभएको छ । जनसहभागिता र उत्साहले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै उहाँले फागुन २१ मा परिवर्तनका पक्षमा मतदान गर्न मतदातासँग अपिल गर्नुभएको छ ।
प्रकाशित मिति: २०२६-०२-२५ , समय : १९:२१:२२ , ८ घन्टा अगाडि