मर्चवारमा आशुतोष मिश्राको सक्रिय चुनावी अभियान

“काम गरेर देखाउँछु, नभए पुनः उम्मेदवार बन्ने छैन”

रुपन्देही खबर , ८९  पटक हेरिएको

मर्चवार,फागुन १३

फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–४ को चुनावी माहोल तातेको छ । यस क्षेत्रमा विभिन्न दलबाट उम्मेदवार बनेकाहरु मत आकर्षिक गर्न दौडधुपमा छन् । दलहरु समर्थन जुटाउन घरदैलोमा व्यस्त छन् ।

रुपन्देही ४ बाट नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार आशुतोष मिश्राले पनि जनमत पक्षमा पार्ने कसरतमा हुनुहुन्छ । आफ्नो दलले बिगतमा खेलेका भूमिका र आगामी कार्ययोजना सहित उहा मतदाता समक्ष पुगिरहनु भएको छ । यसै क्रममाक्रममा रुपन्देही–४ दीर्घकालीन विकाससँग जोडिएका पूर्वाधारका मुद्दालाई प्राथमिकता दिएर प्रचार गरिरहनु भएको छ ।

रुपन्देही खबर संग कुराकानी गर्दै मिश्राले भन्नु भयो । “म जनताको चाहना र आवश्यकतालाई ध्यानमा राखेर एजेन्डा तयार पारिरहेको छु । यदि मैले बनाएको योजना अनुसार काम गर्न सकेन भने आगामी निर्वाचनमा फर्केर आउने छैन । यो मेरो स्पष्ट प्रतिबद्धता हो।”

मिश्राले विगतका निर्वाचनको अनुभव सम्झाउँदै भन्नु भयो , “उम्मेदवार जितेपछि विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा परिवर्तन कमै हुन्छ । यस पटक मतदाताले सचेत भएर निर्णय गर्नुपर्छ। मलाई एक अवसर दिनुहोस्, म काम गरेर देखाउँछु।”

उहाको अभियानमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता देखिएको छ । मिश्राले क्षेत्रका प्रमुख समस्याहरू जस्तै सडक सुधार, सिंचाइ सुविधा विस्तार, विद्यालय तथा स्वास्थ्य सेवाको स्तर उकास्ने र युवा रोजगारी सिर्जना लगायतलाई प्राथमिकतामा राख्नु भएको छ । मिश्राले जनताको मतको महत्व बुझ्दै भन्नु भयो , “जनताको मत अमूल्य छ। यो मतको सम्मान गर्दै ठोस काम गर्नेछु। काम नभए म पुनः उम्मेदवार बन्ने छैन ।”

नेपाली कांग्रेसले यस क्षेत्रमा बलियो आधार बनाउन खोज्दै आएको छ। मिश्राको सक्रियता, स्थानीय मुद्दाप्रतिको संवेदनशीलता र जवाफदेही प्रतिबद्धताले मतदातालाई आकर्षित गरेको छ ।

फागुन २१ गते हुने निर्वाचनमा मतदाताको निर्णय नै अन्तिम हुनेछ। आशुतोष मिश्राले टोल–टोलमा पुगेर समस्या सुन्ने र समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ , जसले मतदातामा विश्वास जगाउने प्रयास गरेको देखिन्छ ।

प्रकाशित मिति: २०२६-०२-२५ , समय : २१:४५:२१ , ६ घन्टा अगाडि